काठमाडौं । संसद्को सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी थालेको छ ।
केन्द्रीय कार्यालय च्यासलमा बिहीबार सचिवालय बैठक राखेर एमालेले चुनावको तयारी थालेको हो । “चुनाव सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेका छौं । अब सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गर्छौँ”, बैठकपछि प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने । झण्डै दुई महिनापछि बसेको सचिवालय बैठकले निर्वाचन परिचालन र घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
दुवै समितिको नेतृत्व अध्यक्ष केपी ओली आफैँले गर्ने भएका छन् । ओली नेतृत्वको निर्वाचन परिचालन समितिमा केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष÷महासचिव र विभागका सचिवहरु रहनेछन् ।
घोषणापत्र मस्यौदा समितिमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् ।
एमालेले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । आउने ७ भदौमा स्थायी कमिटी, ९ भदौमा पोलिटब्यूरो र १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने गुरुङले बताए । चैतपछि एमालेको सचिवालय बाहेक अरु कमिटीको बैठक बसेको छैन ।
सचिवालयको बैठक भने गएको ३० जेठमा बसेको थियो । उक्त बैठकले स्थानीय चुनावमा सत्ताको चरम धाँधली भएको र पार्टीभित्रै अन्तरघात भएको निष्कर्ष निकालेको थियो । अन्तरघातबारे सम्बन्धित कमिटीले अध्ययन गर्ने निर्णय पनि भएको थियो ।
त्यसपछि भने कुनै पनि कमिटीको बैठक नराखेको एमालेले लगातार बैठक राखेर चुनाव केन्द्रीत हुने निर्णय गरेको छ । “एमालेविरुद्ध गठबन्धनले चौतर्फी घेराबन्दी गरेको छ । तर एमाले पहिलो शक्ति बन्छ” बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए ।
“चुनौती भए पनि राम्रोसँग लाग्दा एमाले पहिलो शक्ति हुन्छ”, ओलीको भनाइ उदृत गर्दै ती पदाधिकारीले भने । अन्य राजनीतिक पार्टीहरुसँग तालमेलबारे भने कुनै छलफल नभएको उपमहासचिव गुरुङले बताए । “हामीले आज गठबन्धन आदी इत्यादीबारे कुनै छलफल गरेका छैनौं”, गुरुङ भने ।
सचिव गोकर्ण बिष्ट तत्काल कुनै पनि गठबन्धनको सम्भावना नरहेको बताउँछन् । “त्यो सम्भावना देखिँदैन । अहिलेकै अवस्थामा हामी चुनावमा जान्छौं”, बिष्ट भन्छन् । एमालेका कतिपय नेताले भने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा वाम तालमेलका प्रयास गरेका थिए ।
प्रतिक्रिया