पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

३३ वर्षपछि जोरसालमा औंसी पूर्णिमा हाट सञ्चालनमा

चिन्तन खबर

फिदिम । पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल बजारमा ३३ वर्षपछि औंसी पूर्णिमा हाट बजार सञ्चालनमा आएको छ ।

जिल्लाको पुरानो सदरमुकाम समेत रहेको जोरसाल बजारमा आजबाट उक्त हाट पुनः लाग्न थालेको हो । हाटको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले आज आयोजित कार्यक्रममा उद्घाटन गर्नुभयो । सदरमुकाम फिदिमबाट दुई किलोमिटरको दूरीमा रहेको यस बजारको पुनर्जीवन, उक्त आसपासका कृषकहरुको कृषि उपज सहज विक्री वितरण तथा परम्पराको संरक्षणको लागि उक्त हटिया पुनः सञ्चालनमा ल्याइएको हो ।

देउराली युवा क्लब र जोरसाल ब्यवस्थापन समितिले उक्त हाट सञ्चालनमा ल्याएका हुन् । हटिया पुनः सञ्चालन गर्ने सोच बनाएका स्थानीयवासीलाई फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले मद्दत गरेपछि आजबाट हाट सञ्चालनमा आएको छ । प्रत्येक औंसी र पूर्णिमा दिन लाग्ने हटिया विशेषतः स्थानीय कृषि उपज विक्रीका लागि उपयुक्त हुने स्थानीयवासीको अपेक्षा छ ।

विगतमा लाग्ने हटिया स्थानीयस्तरमा उत्पन्न समस्या तथा उपभोक्ता कम हुँदा बन्द भएको थियो । बजारीकरण बढ्दै जाँदा जोरसाल बजारमा समेत उपभोक्ता बढेका छन् । सवारीसाधनको उपलब्धताले सदरमुकामका ग्राहक समेत यहाँसम्म पुग्ने भएपछि हटिया सञ्चालनमा ल्याइएको ब्यवस्थापक संस्थाहरुले जनाएका छन् ।

हाल राजमार्गको आसपास लाग्ने हटियालाई ब्यवस्थित गर्न आवश्यक संरचना निर्माणका लागि आफूले पहल लिने वडाध्यक्ष लावतीले वताउनुभयो । देउराली युवा क्लब र जोरसाल ब्यवस्थापन समितिको अगुवाई तथा फिदिम नगरपालिका, फिदिम नगरपालिका–४ वडा कार्यालय तथा पाँचथर उद्योग वाणिज्य संघको प्रवद्र्धनमा हाट लाग्न थालेको हो ।

हाटमा आसपासका कृषकहरुले सागशब्जी, दाल, फलफूल लगायत कृषि उपज विक्रीका लागि राखेका थिए भने फिदिमका केही ब्यवसायीहरुले लत्ताकपडा, जुत्ताचप्पल लगायत सामग्री विक्रीका लागि राखेका थिए ।

साँस्कृतिक झाँकीहरु सहित आयोजित उद्घाटन कार्यक्रममा लाखेनाच सहित विभिन्न जातजातिका साँस्कृतिक प्रस्तुति समेत राखिएको थियो । यहाँ लाग्ने हटियाले फिदिम नगरपालिका वडा नं. २ को तल्लो भाग, वडा नं. ४, ५ र ९ तथा हिलिहाङ र कुम्मायक गाउँपालिकाका केही वडाका कृषकहरुलाई कृषि उपज विक्रीका लागि सहयोग पुग्ने वडाध्यक्ष लावतीले वताउनुभयो ।

सदरमुकाम फिदिममा प्रत्येक शनिवार शनिवारे हटिया लाग्दै आएको छ । जिल्लाका अधिकांश हाट बजारहरु क्रमशः बन्द हुँदै गएको अवस्थामा फिदिम–४ मा उक्त हटिया पुनः लाग्न सुरुआत हुनु सुखद् विषय भएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरेको भनाई छ । हटिया उद्घाटन गर्दै फिदिमका नगर प्रमुख काफ्लेले परम्परागत हाटबजार सञ्चालनमा नगरपालिकाले समेत सहयोग गर्ने वताउनुभयो ।