काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी पाँच दलीय गठबन्धनभन्दा बाहिर छ । उक्त दलले गठबन्धनभन्दा बाहिरको प्रमुख शक्ति नेकपा (एमाले)सँग तालमेल र गठबन्धनमा समेत छैन् । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा गठबन्धन सिट बाँडफाँटको गृहकार्यमा छ भने एमाले अधिकाधिक मत हाँसिल गर्ने प्रयासमा छ ।
पाँच दलीय गठबन्धनमा लोसपाको सहभागिताको सम्भावना लगभग अन्त्य भइसकेको छ तर कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई ल्याउन अझै प्रयास गरिरहेका छन् । बिहीबारमात्र लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित सो पार्टीका अन्य शीर्ष नेताहरुसँग छलफल गर्ने क्रममा प्रधानमन्त्री देउवाले गठबन्धनमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।
तर गठबन्धनमा रहेका दलहरु माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी भने लोसपालाई भित्र्याउन सकारात्मक छैनन् । ती दलका नेताहरु गठबन्धनलाई विस्तार गर्ने पक्षमै छैनन् । उनीहरुले गठबन्धनको बैठकमै आफ्नो धारणा प्रस्ट पारिसकेका छन् ।
गठबन्धनलाई थप विस्तार नगर्ने भएकैले माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम संयोजक रहेको नेकपा (राष्ट्रिय एकता अभियान)लाई आफ्नो दलको चुनाव चिह्न दिने गरी चुनावी एकताको घोषणा गरिसकेको छ । बावुराम र बामदेव पाँच दलीय गठबन्धनमा सहभागी हुन चाहन्थे तर गठबन्धनलाई पाँच दलमै सीमित राख्ने समझदारी भएपछि ती दुवै दल माओवादी केन्द्रमा टाँसिएका छन् ।
तर यता, लोसपा भने गठबन्धनमा प्रवेश गर्न कुरेर बसेको छ । प्रधानमन्त्री देउवाले पनि लोसपालाई गठबन्धनमा ल्याउने प्रयास गरिरहेका छन् ।
भारतको दबाब
लोसपाले पाँच दलीय गठबन्धनमा सहभागी हुने भनेर एमालेको साथ छाडे पनि अहिले न पाँच दलीय गठबन्धनमा सहभागी हुन पाएको छ, न एमालेको साथ पाएको छ । लोसपा यतिबेला अलपत्र अवस्थामा छ ।
कुनै दलसँग गठबन्धन बनाएन भने अगामी चुनावमा थ्रेस होल्ड कटाउन लोसपालाई गाह्रो हुने जानकारहरु बताउँछन् । त्यही भएर कम से कम थ्रेसहोल्ड कटाउनका लागि भए पनि लोसपालाई पाँच दलीय गठबन्धनमा राख्नुपर्ने नेपालस्थित भारतीय दूतावासको समेत दबाब छ ।
स्रोत भन्छ, “दूतावासले कुनै न कुनै रुपमा लोसपालाई गठबन्धनमा सहभागी गराउन चाहेको छ । त्यसका लागि उसले प्रधानमन्त्री देउवालाई पटक पटक आग्रह गरिसकेको छ ।” एमालेसँग लोसपा टाढिनुमा भारतीय दूतावासको पनि भूमिका रहेको स्रोतले दाबी गरेको छ ।
आफ्नै पार्टीका केही नेता ठेगान लगाउने देउवाको दाउ
मधेस प्रदेशमा प्रधानमन्त्री देउवालाई आफ्नै पार्टीबाट तनाव दिने नेतामा विमलेन्द्र निधि पहिलो नम्बरमा छन् । उनले शेखर कोइरालासँग मिलेर प्रधानमन्त्री देउवा पक्षलाई मधेसमा कमजोर बनाउन लागेको चर्चा छ । त्यसको बदला लिन यस पटकको चुनावमा निधिलाई टिकट नदिनका लागि पनि प्रधानमन्त्री देउवाले लोसपालाई गठबन्धनमा ल्याउन पहल गरिरहेको चर्चा छ ।
कांग्रेसका एक नेताका अनुसार लोसपा सत्तारुढ गठबन्धनमा सामेल भएमा सो पार्टी वरिष्ठ नेता राजेन्द्र महतोलाई धनुषा क्षेत्र नम्बर ३ मा टिकट दिन गठबन्धन बाध्य हुनेछ । धनुषा क्षेत्र नम्बर ३ विमलेन्द्र निधिको चुनाव क्षेत्र हो । २०७४ को निर्वाचनमा निधि राजेन्द्र महतोसँग पराजित भएका थिए ।
लोसपा गठबन्धनमा जाने बित्तिकै कम्तीमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीको सिट सुरक्षित गर्नुपर्ने गठबन्धनको दायित्व बन्छ । त्यो अवस्थामा राजेन्द्र महतोले गठबन्धनबाट टिकट पाएपछि निधि माइनस हुनुपर्ने अवस्था आउनसक्छ । त्यस्तै, महोत्तरी, सर्लाहीका केही नेतालाई ठेगान लगाउन पनि प्रधानमन्त्री देउवाले लोसपाको साथ खोजेको बुझ्न सकिन्छ ।
प्रधानमन्त्री देउवा अगामी चुनावपछि पनि पुनः प्रधानमन्त्री बन्ने दाउमा छन् । उनले त्यसका लागि माओवादी केन्द्रलाई पनि ‘साइज’ मा राख्न खोजेका छन् । माओवादी जति खुम्चिन्छ, आफूलाई त्यति नै सहज हुने उनको बुझाइ छ । लोसपा गठबन्धनमा आएपछि जसपा र माओवादी केन्द्रको सिट स्वाभाविक रुपमा कम हुन्छ ।
लोसपा जति बलियो भयो, कांग्रेसलाई त्यति नै फाइदा हुन्छ । कांग्रेसले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाभन्दा बढी लोसपामाथि विश्वास गर्छ । कांग्रेसले संघ तथा प्रदेशको चुनावमा माओवादी केन्द्रलाई प्रधानमन्त्रीको दाबी गर्न नसक्ने अवस्थामा सीमित पार्न खोजेको र त्यसका लागि लोसपा एउटा अस्त्र बन्न सक्ने देखिन्छ ।
प्रतिक्रिया