पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रेडपाण्डा र चितुवाको छालासहित भारतमा ताप्लेजुङका तीन युवा पक्राउ

चिन्तन खबर

झापा । संकाटापन्न सूचीको रेडपाण्डा र लोपोन्मुख चितुवाको छालासहित ताप्लेजुङका तीन जना युवा भारतको सिलिगुडीमा पक्राउ परेका छन् । ताप्लेजुङका चन्द्रप्रकाश चेम्जोङ (३५), गोविन्द साम्बा लिम्बु (२५) र याक्पु शेर्पा (३७) लाई जल्पाइगुडी जिल्लाको वैकुण्ठपुर वन डिभिजनले पक्राउ गरेको हो ।

रेन्जर अधिकृत सञ्जय दत्तासहितको टोलीले एउटा चितुवाको र दुईवटा रेड पाण्डाको छालासहित तीन नेपालीलाई न्यू जल्पाइगुडी नजिकैबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । तीनै जना अभियुक्तलाई बुधबार जलपाइगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

यी तीनै जना नेपाली मोटरसाइकलमा सवार थिए । प्रहरीले गोप्य सूचनाका आधारमा उत्तरबङ्गाल विश्वविद्यालय, बागडोग्रानजिकैबाट पछ्याएको थियो । प्रहरीले पछ्याएको सुइँको पाएपछि उनीहरु भागेर न्यू जल्पाइगुडी पुगेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरू चितुवा र रेडपाण्डाको छाला चीन तस्करी गर्ने योजनामा रहेको बताइएको छ । “भुटानका तस्करमार्फत छालाहरु चीन पठाउने उनीहरुको योजना थियो”, रेन्जर दत्ताले भने, “आरोपित व्यक्तिले ३० लाख रुपैयाँमा भारत–भुटान सीमा क्षेत्रमा छाला पुर्‍याउने गरेको र सिलिगुडी कोरिडोरबाट चीन तस्करी हुने गरेको खुलेको छ ।”

जनावरका अंग र छालाको दर भाउ निश्चित भएपछि नेपाली बिचौलियाहरुले भुटानका तस्करलाई पठाउँदै आएका थिए । भारत–भुटानको सीमावर्ती सहर फुन्छोलिङमा मोलमोलाईपछि सामान आदानप्रदान हुँदै आएको वन कार्यालयको दाबी छ । चितुवा र रेडपाण्डाको छाला भुटानसम्म पुर्‍याउन उनीहरूले करिब ३० लाख भारुमा माग गरेको बुझिएको छ ।

यसपटक ताप्लेजुङको मिक्वाखोला क्षेत्रवाट चितुवा र रेडपाण्डाको छाला संकलन गरी अन्तर्राष्ट्रिय सिमाना नाघेर भारत पुर्‍याएका थिए । केही समयअघि उनीहरुले पानीटंकीमा छाला लुकाएर राखेको बुझिएको छ ।

रेड पाण्डाको छाला भारतमा पहिलो पटक बरामद गरिएको वनको दाबी छ । वैकुण्ठपुर वन महाशाखाका डीएफओ हरिकृष्णनले आरोपीहरूलाई भारतको वन्यजन्तु संरक्षण ऐन, १९७२ को धारा ५१ अन्तर्गत कारबाही गरिने जनाए । (इकान्तिपुरबाट)