पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पित्तथैलीको अप्रेसन गर्दा तीनवटा दाँत गायब

चिन्तन खबर

काठमाडौं । वीर अस्पतालमा पित्तथैलीको अप्रेसन गरिएकी एक बिरामीको तीनवटा दाँत नै गायब भएका छन् ।

नुवाकोटकी ५० वर्षीया राधिका ओझाको पित्तथैलीको अप्रेसनपछि चिकित्सकले अगाडि माथिल्लोपट्टिका तीनवटा दाँत पनि नभएको अवस्थामा थिएटरबाट बाहिर निकालेका हुन् । मंगलबारको उक्त घटनाबारे पीडित ओझाले भनिन्, “अप्रेसन सकिएपछि बाहिर निकाले । केहीबेरपछि होसमा आउँदा मुख र गिजा दुखेको महसुस हुन थाल्यो । हातले छाम्दा त अगाडिका दाँत नै थिएनन् ।”

ओझालाई वार्डमा सारेपछि परिवारका सदस्यले अगाडि माथिल्लोपट्टिका तीनवटा दाँत भाँचिएको देखेका थिए । यसबारे उनीहरूले तत्काल चिकित्सकलाई प्रश्न गरेका थिए । अस्पताल र चिकित्सकले ‘अप्रेसनका क्रममा इन्टुबेसनका लागि भेन्टिलेटरमा राखेर उपचार गर्दा जटिलता निम्तिएर यस्तो दुर्घटना भएको’ जवाफ दिएका छन् ।

‘अस्पताल र चिकित्सकले कुनै लापरबाही गरेको छैन । पित्तथैलीको अप्रेसन गर्नुपर्नेमा लापरबाही गरेर डाक्टरले दाँत निकालिदिएको आफन्तले आरोप लगाएका छन् । तर, यो सत्य होइन । बिरामीको पित्तथैलीको अप्रेसन सफलतापूर्वक भइसकेको छ,’ वीरका निर्देशक डा. भूपेन्द्र बस्नेतको दाबी छ, ‘अप्रेसन गर्दा आइपर्ने जोखिमलाई कम गर्न खोज्दा दाँत भाँचिएको हो । इन्टुबेसन (घाँटीबाट श्वासनलीमा पाइप राखेर भेन्टिलेटरबाट कृत्रिम श्वास फेराउने प्रक्रिया) गर्ने क्रममा दुर्घटना भएको हो । बिरामीको घाँटीको बनावट असहज भएकाले ल्यारिङगोस्कोपी उपकरणले लागेर दाँत भाँचिएको हो । अप्रेसनका क्रममा यस्ता घटना भइरहन्छन् ।’

तर, उपचारको क्रममा हुन सक्ने सम्भावित दुर्घटनाबारे चिकित्सकले कुनै पूर्वजानकारी नै नगराएको पीडितको गुनासो छ । ‘पित्तथैलीको अप्रेसन गर्न लगेको बिरामी थिएटरबाट फर्किँदा तीनवटा सद्दे दाँत नै छैन । घटना कसरी भयो भनेर सोध्दा चिकित्सकले हामीलाई काउन्सिलिङसमेत गर्नुभएको छैन,’ बिरामी ओझाका आफन्त गणेश पौडेलले भने, ‘उपचारका क्रममा गल्ती गर्ने र गल्ती गरेपछि पनि घटनाप्रति चासो नदिनु हदैसम्मको लापरबाही हो । उपचार केको गर्ने भन्ने मेसो नपाएर डाक्टरले दाँत निकालेको पनि हुन सक्छ ।’

अघिल्लो सोमबार भर्ना गरिएकी ओझाको मंगलबार अप्रेसन भएको थियो । शल्यक्रियापछि संक्रमण फैलिएको बताएपछि उनलाई अस्पतालमै राखिएपछि दाँत भाँचिएको विषयमा चिकित्सकले चित्तबुझ्दो जवाफ नदिएको आफन्तहरूको गुनासो छ ।

बर्सेनि मेडिकल काउन्सिलमा चिकित्सकको लापरबाहीसम्बन्धी दर्जनौँ उजुरी

गत सोमबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरूको लापरबाहीले गर्भमै एक शिशुको ज्यान गएको भन्दै आफन्तले विरोध गरे । अस्पतालमै सुत्केरी बेथाले च्यापेर सहन नसकेपछि पटकपटक चिकित्सकलाई सम्पर्क गर्दा हेर्नसमेत नआएको र गर्भमै शिशुको मृत्यु भएको आफन्तको आरोप छ । सोही दिन राति साढे ८ बजे मृत शिशुको जन्म भएको थियो ।

तर, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश साहले गर्भवती महिलाको उपचारमा लापरबाही नभएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘बच्चाको सालनाल घाँटीमा बेरिएर दिसा खाएपछि मृत्यु भएको हो, चिकित्सकको लापरबाहीले होइन ।’

चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण दुर्घटना हुने गरेको भन्दै आन्दोलन र तोडफोडका घटना पटक–पटक हुँदै आएका छन् । तर, अधिकांश घटनामा चिकित्सक भने उपचारका क्रममा आएको जटिलता भनेर पन्छिने गरेका छन् । चिकित्सकीय लापरबाही र कमजोरीका यस्ता घटनाबारे छानबिन गर्दै आएको नेपाल मेडिकल काउन्सिलमा बर्सेनि ५० वटासम्म उजुरी पुग्ने गरेका छन् ।

काउन्सिलअन्तर्गतको ‘व्यावसायिक आचरण तथा स्वास्थ्य समिति’को तथ्यांकअनुसार पछिल्लो एक महिनामा मात्र चिकित्सकको लापरबाहीविरुद्ध आठवटा घटना दर्ता भएका छन् । गत आर्थिक वर्षमा ४६ र ०७७र७८ मा ५० घटना काउन्सिलमा दर्ता भएको तथ्यांक छ । कैयौँ घटना त काउन्सिलसम्म नै पुग्दैनन् । समस्याबाट पन्छिन अस्पतालले बिरामी तथा मृतकका आफन्तलाई क्षतिपूर्ति दिने तथा उपचार शुल्क मिनाहा गरिदिएर घटना मिलाउने गरेका छन् । (नयाँ पत्रिका अनलाइनबाट)