फिदिम । दिवङ्गत साहित्यकार थाम्सुहाङ पुष्प सुब्बाको कृति ‘लिम्बू काब्यको प्रवृत्तिगत समालोचना’ आज लोकार्पण भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको उक्त कृति आज पाँचथरको फिदिममा आयोजित लोकार्पण समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गर्नुभयो । सुब्बाले तयार पार्नुभएको कृति प्रकाशनका लागि याक्थुङ प्रज्ञा प्रतिष्ठानले समन्वय गरेको थियो । प्रतिष्ठान र नौलो साहित्यिक विहान समाजले कार्यक्रमको आयोजना गरी उक्त कृति सार्वजनिक गरिएको हो ।
थाम्सुहाङको वि.सं. २००५ सालमा पाँचथरको साविक याङनाम गाविसमा जन्म भएको थियो । नेपाली र लिम्बू वाङ्मयमा आजीवन समय खर्चनुभएका उहाँले नेपाली र लिम्बू (सिरिजङ्गा लिपि)मा गरी २० वटा कृति प्रकाशन गरिसक्नु भएको थियो । दिवङ्गत सुब्बाका थुप्रै रचनाहरु अप्रकाशित रुपमा रहँदै आएकामा नेपाल प्रज्ञा प्रतिष्ठानले लिम्बू काब्यको प्रवृत्तिगत समालोचना कृति प्रकाशनमा ल्याएको हो ।
उत्तरवर्ती सोचका प्रवर्तक थाम्सुहाङका कृतिहरुमा अनुभूति, वौद्धिकता र साधनाको सम्मिश्रण पाइने लेखक एवं समीक्षक मधुराज केरुङको भनाई छ । प्रयोगवादी चेत भेटिने उहाँका कृतिमा ग्रीक, नेपाली र किराँती मिथकहरुको प्रयोग भएको पाइन्छ । पञ्चायत कालमा भारतको सिक्किममा बसेर सिरिजङ्गा नामको पत्रिका प्रकाशन गर्नुभएका उहाँले पाँचथरबाट थाङसाङ र सुम्हात्लुङ पत्रिकाको सम्पादन समेत गर्नुभएको थियो ।
लेखक र कृतिका बारेमा कार्यक्रममा समालोचक मधुराज केरुङ, डा.देवी क्षेत्री दुलाल र प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिचन्द्र लावतीले टिप्पणी गर्नुभएको थियो । टिप्पणीका क्रममा लिम्बू साहित्यको समग्र र कालक्रमिक अवस्था साथै मुख्य प्रवृति र लिम्बू साहित्यका स्रष्टाहरूका बारेमा पनि समालोचनात्मक र विश्लेषणात्मक चर्चामा पुस्तक केन्द्रीत रहेको प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिचन्द्र लावतीले बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान कुलपति उप्रेतीले थाम्सुहाङ पुष्प सुब्बाले नेपाली र लिम्बू साहित्य तथा वाङ्मयमा पु¥याएको योगदान अतुलनीय रहेको वताउनुभयो । सुब्बाले सूदुरपूर्व पाँचथरमा रहेर पनि नेपाली साहित्यका लागि सधैँ महत्वपूर्ण रहने कृतिहरु प्रकाशन गरेको उहाँले वताउनुभयो ।
मातृभाषाको जगेर्ना तथा लिम्बू भाषा साहित्यको गुणात्मक विकास एवं मातृभाषी साहित्य सिर्जनामा सुब्बाका कृति अजर अमर रहने कुलपति उप्रेतीको भनाई थियो । मुन्धुमी, नेपाली तथा ग्रीक मिथकको प्रयोग गर्नसक्ने असाधारण क्षमता नेपालका सिमित लेखकहरुमध्ये सुब्बामा समेत रहेको र त्यसको प्रयोगबाट सिर्जित महाकाब्य सहितका कृतिको महत्व सधैँ रहने उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया