Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
कतार विश्वकप फुटबल अरूभन्दा किन फरक छ ? जान्नुहोस् १२ कारणहरु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

कतार विश्वकप फुटबल अरूभन्दा किन फरक छ ? जान्नुहोस् १२ कारणहरु

चिन्तन खबर

काठमाडौं । मानव अधिकार उल्लङ्घनका प्रसङ्ग, भ्रस्टाचार आरोपको एकपछि अर्को शृङ्खला, कामदारको मृत्युको विषय जस्ता विश्व फुटबललाई तरङ्गित पार्ने अनेकन ठूल्ठूला विवादलाई पन्छाउँदै अन्ततः खाडीको एउटा सानो देश कतार विश्वकप फुटबल २०२२ आयोजनाको सँघारमा पुगेको छ।

विश्व फुटबलको यो महान चाड आफ्नो देशमा आयोजना गर्न कतारले विश्व फुटबलको स्थापित कतिपय प्रचलनलाई नै उथलपुथल पारिदियो, भलै त्यस निम्ति उसले अर्बौं डलर पानी जसरी खन्याएको छ।

कतार विश्वकप २०२२ धेरै अर्थले पृथक र विशेष हुँदैछ र उसले यस्तो इतिहास लेख्दैछ, जुन विश्वकप फुटबलमा अब फेरि दोहोरिन धेरै समय लाग्न सक्छ वा नदोहोरिन पनि सक्छ।

के छ त कतार विश्वकपका विशेषताहरू ?

१. मध्यपूर्वको पहिलो विश्वकप

विश्वकप २०२२ मध्यपूर्वी एसियाले आयोजना गर्न लागेको पहिलो विश्वकप हो। साथै एसियाली मूलुकमा हुन लागेको यो दोस्रो आयोजना हो। यसअघि जापान र दक्षिण कोरियाले सन् २००२ को विश्वकप संयुक्त रूपमा आयोजना गरेका थिए।

यो आयोजनाको अधिकार पाउन कतारले प्रत्याशी राष्ट्रहरू अमेरिका, दक्षिण कोरिया, जापान र अष्ट्रेलियालाई उछिनेको थियो। सन् २०१० मा सेप ब्लाटर फिफा अध्यक्ष भएको बेला कतारले जितेको यो आयोजनाको अधिकार पछि गएर फिफाका दुई सदस्यले भोट किन्नका लागि घुस लिएको आरोपमा प्रतिबन्धित भएपछि विवादको घेरामा परेको थियो। यही विषय कै कारण अन्ततः ब्लाटरले पद गुमाउन परेको मानिन्छ।

२. पहिलो हिउँदे विश्वकप

हरेक ४ वर्षमा जुन–जुलाई महिनामा विश्वकप आयोजना हुने परम्परा बसेको थियो। तर पहिलो पटक विश्वकप नोभेम्बर–डिसेम्बरमा हुन लागेको छ, किनभने जुन–जुलाईमा कतारमा प्रचण्ड गर्मी हुन्छ। जुलाई महिनामा कतारको तापक्रम सामान्यतया ४२ देखि ४४ डिग्री सेल्सियससम्म पुग्ने गर्छ।

जबकी नोभेम्बरमा त्यो २४ देखि २८ डिग्री सम्ममात्र पुग्छ। नोभेम्बर डिसेम्बरमा विश्वकप गरिने भएपछि विश्व फुटबलकै क्यालेन्डर उथलपुथल भएको छ। युरोपका चर्चित लिगहरू अहिले नै सुरु गरिसकिएको छ। र, विश्वकपका बेला ती लीगहरू स्थगित हुनेछन्।

३. मानव अधिकार उल्लङ्घन

रङ्गशाला निर्माणका क्रममा ल्याइएका आप्रवासी कामदारहरूको सेवा सुविधामा कमी, उनीहरूको तलब र मृत्युको विषय विश्वव्यापी आलोचना र विवादको विषय बन्यो। अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरन्याशनल र अन्य अधिकारवादीहरूले आप्रवासी कामदारहरूलाई ४४० मिलियन अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने माग नै राखे, जुन विश्वकप विजेताले पाउने रकम बराबर हो। यो विवाद अझै जारी छ।

४. तेस्रोलिङ्गी विवाद

कतारमा कानुनतः समलैङ्गिकतालाई अपराध मानिन्छ र त्यस्तो गतिविधि गर्नेलाई ३ वर्षको जेल वा मृत्युदण्ड समेतको सजाय छ। यद्यपि मृत्युदण्डको सजाय भने अहिलेसम्म कसैलाई सुनाइएको छैन।

यस्तोमा यौनिक अल्पसङ्ख्यकहरूले विश्वकप हेर्न पाउने–नपाउने विषयले चर्चा र विवादको रूप लियो। आयोजक कतारले जुनसुकै व्यक्ति वा वर्गले विश्वकप हेर्न पाउने बताए पनि त्यहाँको कानुनका कारण विश्वकप हेर्न आउन चाहने यौनिक अल्पसङ्ख्यकहरूले आफ्नो सुरक्षामा शङ्का जनाएका छन्।

विशेषतः उनीहरूको कतिपय मागमा आयोजक मौन देखिन्छ। त्यसैले कतिपय राष्ट्रका यौनिक अल्पसङ्ख्यक समूहले विश्वकप बहिष्कार गर्ने निर्णय नै गरेका छन्।

५. मदिरा

कतारमा मदिरा पिउन प्रतिबन्ध छ। सार्वजनिक स्थलमा मदिरापान गर्न र मदिरापान गरेर सार्वजनिक स्थलमा जान कतारमा प्रतिबन्ध छ। त्यसो गरेको पाइएमा ६ महिनासम्मको जेल सजाय वा ८५० अमेरिकी डलर जरिवाना सम्मको व्यवस्था छ।

तर विश्वकपका लागि आयोजकले विश्वभरबाट आउने दर्शकहरूलाई ध्यानमा राखेर मदिरापानमा खुकुलो नीति लिएको छ। विश्वकपका दौरान समर्थकहरूका लागि निश्चित स्थानमा ‘फ्यान जोन’ बनाइनेछ र त्यहाँ बसेर मदिरा किन्न र पिउन पाइनेछ, तर निश्चित क्षेत्रबाट बाहिर भने होइन।

६. २२औँ संस्करण

कतारमा हुने प्रतियोगिता विश्वकप आयोजनाको २२औँ संस्करण हो। सन् १९३० मा युरुग्वेबाट विश्वकप शुरु भएको हो, जहाँ आयोजक राष्ट्रले फाइनलमा आर्जेन्टिनालाई ४–२ गोलले पराजित गरेको थियो।

त्यसयता विश्वकप हरेक ४–४ वर्षमा हुँदै आएको छ। तर दोस्रो विश्वयुद्धका कारण १९४२ र १९४६ को विश्वकप भने रद्द भएका थिए।

७. एक दिन अगाडि

यस्तो कमै मात्र हुने गर्छ। २०२२ फिफा विश्वकप आधिकारिक रूपमा नोभेम्बर २१ बाट हुने निश्चित गरिएको थियो। र, पहिलो खेल सेनेगल र नेदरल्याण्डसवीच खेलिने तय भएको थियो।

तर आयोजक राष्ट्रले उद्घाटन खेल खेल्ने अभ्यास हुँदै आएकोले त्यसलाई निरन्तरता दिने भन्दै खेल तालिका एकदिन अगाडि सारियो। अब विश्वकपको पहिलो खेल नोभेम्बर २० मा खेलाइने भएको छ र त्यसमा आयोजक कतारले इक्वेडरसँग खेल्नेछ।

८. रुसमाथि प्रतिबन्ध

चारवर्ष अगाडिको विश्वकप आयोजक राष्ट्र रुसले कतार विश्वकपमा खेल्न पाउने छैन। युक्रेनमाथि आक्रमण गरेको कारण फिफाले रुसलाई सबै खाले फुटबल गतिविधिमा प्रतिबन्ध लगाएको छ। युरोपेली फुटबल संघ यूएफएले पनि उसलाई क्लब फुटबल गतिविधिमा प्रतिबन्ध लगाएको अवस्था छ।

९. आधिकारिक गीत

कतार विश्वकपको आधिकारिक गीत ‘हाया हाया’ हो, जसको अर्थ हो ‘बेटर टुगेदर’ अर्थात ‘साथहुँदा झन् राम्रो’ हो। यो गीत ट्रिनिडाड कार्डोना, डाभिडो र आइशाले गाएका हुन्।

१०. महिला रेफ्री

यसपाली रेफ्रीको हकमा पनि नौलो अध्याय कोरिँदैछ। तीन महिला रेफ्रीहरू फ्रान्सकी स्टेफानी फ्रापार्ट तथा जापानी रेफ्रीद्वय रवान्डान सालिमा मुकान्साँगा र योसिमी यामासिता पहिलोपटक पुरुष विश्वकपमा रेफ्री महिला बनेर इतिहास रच्ने भएका छन्।

११. रङ्गशालामा एसी

दर्शकहरूलाई गर्मीबाट जोगाउन कतारका विश्वकपका रङ्गशालाहरूलाई वातानुकूलित बनाउन एअर कन्डिसन जडान गरिएको छ। विश्वकप फुटबलमा गरिन लागेको यो पहिलो अभ्यास हो। यसको लागि कतारले ठूलो रकम लगानी गरेको छ।

१२. नजिक नजिक रङ्गशाला

सामान्यतः विश्वकप आयोजना थुप्रै देश मिलेर गर्न थालेका छन्। सन् २००२ को विश्वकप जापान र दक्षिण कोरियाले संयुक्त रूपमा गरेका थिए।

सन् २०२६ को विश्वकप पनि अमेरिका, मेक्सिको र क्यानडा मिलेर गर्दैछन्। जहाँ विश्वकपका भिन्न भिन्न खेल हेर्न अर्को देशमा पुग्नु पर्छ। तर कतार विश्वकप भने मुख्यतः एउटै शहर दोहामा हुँदैछ जहाँ ५५ किमीभित्र सबै रङ्गशालामा पुग्न सकिन्छ। (बीबीसी नेपालीबाट)