पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चाकरी गर्न ठूला नेता ठाउँठाउँबाट सिफारिस, उपेन्द्र १० स्थानबाट सिफारिसमा

चिन्तन खबर

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा उम्मेदवारका लागि आफ्नो नाम सिफारिस नभएको भन्दै हरेक दलमा असन्तुष्ट नेता कार्यकर्ता छन् । तर कतिययको नाम भने एक भन्दा धेरै क्षेत्रबाट सिफारिस भएका छन् । यसमा सबभन्दा अगाडि छन् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ।

यादवको नाम प्रदेश १ र मधेश प्रदेशका ५ जिल्लाको १० निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएको छ । सप्तरीको चारै क्षेत्रबाट उनको नाम सिफारिस भएको छ ।

नाम सिरहाको क्षेत्र नम्बर १ र २, बाराको क्षेत्र नम्बर २, पर्साको क्षेत्र नम्बर ४, सुनसरीको क्षेत्र नम्बर २, मोरङ्गको क्षेत्र नम्बर ५ बाट पनि उनको नाम सिफारिस गरिएको छ ।

धेरै क्षेत्रबाट नाम सिफारिस भए पनि उनी कहाँबाट चुनाव लड्ने भन्ने तय भइसकेको छैन । पहिलो संविधानसभामा मोरङ र सुनसरी तथा दोस्रो संविधानसभा निर्वाचनमा सुनसरीबाट निर्वाचित यादव २०७४ को निर्वाचनमा सप्तरी–२ बाट निर्वाचित भएका थिए । हरेक निर्वाचनमा सर्दै आएका यादव यस पटक कहाँ पुग्छन भन्ने टुङ्गो छैन् ।

दाहाल पाँच स्थानबाट सिफारिसमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जापानबाट घोषणा गरेका थिए – आगामी निर्वाचन चितवनबाटै लड्छु भनेर । उनले चितवनमै आफ्ना गतिविधि बढाए, कार्यकर्तालाई सोही स्थानबाट उठ्ने वताए । आजका मितिसम्म दाहाल सोही क्षेत्रबाट निर्वाचन लड्ने वताइरहेका छन् ।

भदौ २० गते आइतबार बसेको माओवादीको क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले दाहाललाई चितवन–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस पनि गरिसकेको छ । २०७४ को निर्वाचनमा सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका दाहालको नाम गोरखा–१ बाट पनि सिफारिस भएको छ ।

दलभित्र एकछत्र राज गरेका दाहालको चाकरीका लागि गोरखा र चितवनमा मात्रै होइन, बागलुङ–२, नवलपुर–२ बाट समेत नाम सिफारिस भएको छ । बागलुङ क्षेत्र नम्बर २ समितिले दाहाललाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरूपमा सिफारिस गरेको छ । सो क्षेत्रबाट भौगोलिक रुपमा कुनै सम्बन्ध नरहेका दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवालाई पनि काँग्रेसबाट उम्मेदवार सिफारिस भएको छ ।

आरजु ५ स्थानबाट सिफारिस

काँग्रेसभित्र अहिले कोही शक्तिमा छ भने त्यो हो आरजु देउवा । प्रधानमन्त्री पत्नी देउवाको चाकरी नगरी आफ्नो काम नै नहोला कि जसरी काँग्रेसमा उनका पक्षमा बोल्ने क्रम सुरु भएको छ । यस क्रममा देउवाको नाम पाँच स्थानबाट उम्मेदवार सिफारिस भएको छ । वि.सं. २०७४ को निर्वाचनमा कैलाली–५ मा उम्मेदवार भएकी देउवाको नाम सो क्षेत्र सहित अन्य चार निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस भएको छ ।

उनी बाँके, बार्दिया, बाग्लुङबाट समेत प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकका लागि सिफारिस भएकी हुन् ।​ डडेल्धुरापछि आरजु बाँके ३ र बर्दिया २ बाट प्रत्यक्षका लागि सिफारिसमा परेकी हुन् । शनिबारमात्र नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट पनि आरजुको नाम सिफारिस गरेको छ ।

गत २०७४ को निर्वाचनमा आरजु कैलाली ५ बाट लड्दा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् । त्यसबेला रानाले २७ हजार २०२ मत प्राप्त गर्दा आरजुले २२ हजार ३२२ मत प्राप्त गरेकी थिइन् ।

प्रत्यक्षमा मात्रै होइन आरजुको नाम प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुराबाट समानुपातिकमा समेत सिफारिस भएको छ । यो क्षेत्रबाट प्रधानमन्त्री देउवा प्रत्यक्षमा सिफारिसमा परेका छन् ।

काठमाडौं, पोखरा, सर्लाहीमा पनि गगन

धेरैतिर उम्मेदवार सिफारिसमा पर्ने अर्का नेता हुन् कांग्रेसका महामन्त्री गगन थापा । थापा सुरुमा कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भए । त्यसपछि काठमाडौं–४ बाट उम्मेदवार सिफारिस भएका थापा सर्लाही क्षेत्र नम्बर ४ बाट पनि सिफारिस भएका छन् ।

सर्लाही–४ विगतमा अमरेशकुमार सिंहले जितेको निर्वाचन क्षेत्र हो । सिंहले त्यसबेला राजपाका राकेशकुमार मिश्रलाई हराएका थिए । विभिन्न ठाउँबाट उम्मेदवार सिफारिस भए पनि महामन्त्री थापाले भने आफू काठमाडौं क्षेत्र नम्बर ४ बाटै निर्वाचन लड्ने स्पष्ट पारिसकेका छन् ।

गगनले काँग्रेसमा शक्ति हाँसिल गर्नसक्ने देखेपछि चाकरी गर्न लागेकाहरुले उनलाई असम्बन्धित भएपनि सिफारिस गरेको नाटक गरिरहेका छन् । न गगनले काठमाडौं ४ छोड्छन्, न त अन्यत्र नेता नै छैनन्, तैपनि गगनको नाम सिफारिस चाकरीबाहेक केही होइन् ।

ठाकुर महोत्तरी र बाराबाट सिफारिस

यो निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रत्यक्षतर्फ बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस भएका छन् । सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकले ठाकुरलाई सर्वसम्मत सिफारिस गरेको हो ।

२०७४ सालको निर्वाचनमा ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । तर, उनको नाम सर्लाही र महोत्तरीबाट पनि सिफारिस गर्ने तयारी भइरहेको जिल्लाका स्थानीय नेताहरुको भनाइ छ । यद्यपि ठाकुरले कहाँबाट निर्वाचन लड्ने भन्ने स्पस्ट बताइसकेका छैनन् ।

घनश्याम तानातान

एमाले नेता घनश्याम भुसाल पनि उम्मेदवार सिफारिसमा तानतानमै परेका छन् । उनी रुपन्देही निर्वाचन क्षेत्र १ र ३ बाट सिफारिस भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा घर भएका भुसालले अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिँदै राप्रपा–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका दीपक बोहरालाई पराजित गरेका थिए ।

त्यसवेला पनि पार्टीका स्थानीय नेताले भुसाललाई क्षेत्र नम्बर १ बाटै टिकट दिन माग गरेका थिए । यसपटक पुनः भुसालको नाम क्षेत्र नम्बर १ र ३ बाट सिफारिस भएपछि क्षेत्र नम्बर १ मा मात्र रहने गरी सिफारिस सच्याउन पनि कतिपयले लविइङ गरिरहेका छन् ।

दुई ठाउँबाट उठ्न पाइन्न

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा १४ मा कुनै पनि व्यक्ति दोहोरो उम्मेदवार हुन नपाउने व्यवस्था छ । ऐनमा भनिएको छ, ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागिमात्र उम्मेदवारी दिन सक्नेछ । त्यसरी कुनै व्यक्ति एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवार भएमा निजको सबै निर्वाचन क्षेत्रको उम्मेदवारी आयोगले बदर गर्नेछ ।

(२) समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समावेश गर्न पाइने छैन ।

(३) समानुपातिक निर्वाचन प्रणालीतर्फ एउटै व्यक्तिको नाम एकभन्दा बढी दलको बन्दसूचीमा समावेश भएमा आयोगले त्यस्तो व्यक्तिको नाम त्यस्ता सबै दलको बन्दसूचीबाट हटाउनेछ ।

(४) प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै मितिमा हुने गरी निर्वाचनको मिति तोकिएको अवस्थामा कुनै व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भएमा निजको दुवै निर्वाचनतर्फको उम्मेदवारी आयोगले बदर गर्नेछ ।’ यो व्यवस्थाका कारण सिफारिस भए पनि सम्बन्धित उम्मेदवारले एक ठाउँबाट मात्रै उम्मेदवारी मनोनयन गर्नुपर्ने हुन्छ ।