विराटनगर । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले प्रतिवन्धित लागूऔषध ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको छ ।
हिजो अपरान्ह झापाको मेचीनगर नगरपालिका–६ मा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट नेपाल आउँदै गरेको प्रदेश १–०२–०४४ प ३९२९ नम्बरको मोटरसाइकलमा सवार लेटाङ नगरपालिका–४ मोरङका २१ बर्षीय सनिप राई र २१ बर्षीय पूर्णप्रकाश मगरको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
यस्तै मेचीनगर नगरपालिका–७ का २१ बर्षीय रोहित मण्डल समेत संलग्न रहेकोले बरामद गरिएको ब्राउन सुगर सहित तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै दमक नगरपालिका–२ खरखरेबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका दमक–२ का ४१ बर्षीय भीमबहादुर खत्रीको साथबाट ७ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित रानी भन्सार कार्यालयको १ नम्वर ढाटमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेको प्रदेश १–०२–०४ प १७५७ नम्बरको मोटरसाइकलमा सवार रहेका सुन्दरहरैँचा नगरपालिका–२ का २८ बर्षीय ज्ञानदीप चौलागाँइको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका पाँचै जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया