पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यसपालि निकै महङ्गो छ दशैं

चिन्तन खबर

काठमाडौं । अघिल्ला वर्षहरुको तुलनामा खाद्यान्न लगायत उपभोग्य सामग्रीको मूल्य धेरै बढेपछि यसपालिको दशैं महङ्गो बनेको छ । खाद्यान्न, तरकारी, तेल लगायत सामग्रीमा पछिल्लो १ वर्षमा धेरै मूल्यवृद्धि हुनाले दशैं महङ्गो हुन गएको हो ।

सबै तथ्याङ्कहरु तथा विक्रताका प्रतिनिधिमुलक संस्थाका तथ्याङ्कले पनि यस वर्ष उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको देखाउँछ । गत वर्षको भदौ महिनाको तुलनामा यस वर्षको भदौमा अधिकांश वस्तुको मूल्यमा वृद्धि भएको तथ्याङ्क भेट्टाउन सकिन्छ ।

अघिल्लो वर्षको तुलनामा चामलमा न्यूनतम प्रतिकिलो १० रुपैयाँ मूल्य वृद्धि भएको पाइन्छ भने चिउराको मूल्य प्रतिकिलो २० रुपैयाँले बढेको छ । दाल प्रतिकेजी १० रुपैयाँदेखि २५ रुपैयाँसम्म बढेको खुद्रा ब्यापार संघ केन्द्रीय कार्यालयको तथ्याङ्कले देखाउँछ ।

गेडागुडीमा भने झनै मूल्य वृद्धि भएको पाइन्छ । खुद्रा व्यापार संघका अनुसार चनाको मूल्य प्रतिकिलो २५ रुपैयाँ तथा केराउको प्रतिकिलो ३५ रुपैयाँले बढेको छ । राजमाको मूल्य प्रतिकिलो १० रुपैयाँ र सेतो सिमीको मूल्य प्रतिकिलो ४० रुपैयाँसम्म वृद्धि भएको पाइन्छ ।

खानेतेलमा भने अचाक्ली मूल्य बढेको छ । भुटेको तोरीको तेलको मूल्य ४० रुपैयाँले बढेको छ भने काँचो तोरीको तेलको मूल्य प्रतिलिटिर ११० रुपैयाँले बढेको छ । सनफ्ल्वार तेलको मूल्य प्रतिलिटर ५० रुपैयाँ र डाल्डा घ्यूको मूल्य प्रतिलिटर ८० रुपैयाँले बढेको छ ।

खासगरी रुस–युक्रेनबीच युद्ध हुँदा र दक्षिण अमेरिकामा खडेरी चल्दा खानेतेलको मूल्य बढेको विक्रेताको दाबी छ । युक्रेन र रुस विश्वभरमा सबैभन्दा धेरै सूर्यमुखी, भटमास र तोरीको तेल निर्यात गर्ने मुलुकहरूको सूचीमा शीर्ष स्थानमा पर्छन् ।

तर, यीनै मुलुक आपसी द्वन्द्व फस्दा विश्वभर खानेतेलको आपूर्तिमा समस्या भएकाले मूल्य बढेको उनीहरुको भनाई छ । यस वर्ष आलू, काउली, सिमी, च्याउ, निउरो, हरियो प्याज, ब्रोकाउली, लौकालगायत तरकारीको मूल्य बढेको छ ।