फिदिम । दुई जिल्लाको सुरक्षा रणनीति, अन्तरजिल्ला सीमा अपराध लगायत विषयको अन्तरक्रिया एवं समीक्षाका लागि पाँचथर र तेह्रथुमका सुरक्षा निकायका प्रमुखवीच अन्तरजिल्ला सुरक्षा समन्वयको बैठक सम्पन्न भएको छ ।
हिँजो तेह्रथुमको आठराई गाउँपालिकाको सक्रान्तिबजारमा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहित सुरक्षा निकायका प्रमुखहरुको सुरक्षा समन्वय बैठक सम्पन्न भएको हो । अन्तरजिल्ला सुरक्षा समन्वय बैठकमा दुवै जिल्लाको वर्तमान सुरक्षा अवस्था, सुरक्षामा आइपर्ने चुनौतीहरु, अन्तरजिल्ला सीमा अपराध नियन्त्रण, आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा लगायत विषयमा छलफल भएको थियो ।
यस्तै विपत ब्यवस्थापन, आगामी सुरक्षा रणनीति, शान्ति सुरक्षाका लागि अवलम्बन गरिएका असल अभ्यास सहित दुई जिल्लाले संयुक्तरुपमा गर्नुपर्ने कार्यबारे अन्तरक्रिया भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, दुवै जिल्लास्थित नेपाली सेनाको गणका प्रमुखहरु, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका दुवै जिल्लास्थित प्रमुखहरुको सहभागितामा आयोजित बैठकले आगामी दिन सुरक्षा ब्यवस्थालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । पाँचथर र तेह्रथुम जिल्लालाई तमोर नदीले छुट्ट्याएको छ ।
यद्यपि भौगोलिक अवस्थितिका कारण एकअर्काको भूगोलबाट दुवै जिल्लाको सदरमुकाम नजिकै पर्दछन् । एकै जिल्लासरह आर्थिक, सामाजिक, साँस्कृतिक गतिविधि हुने यी दुई जिल्लाको सुरक्षाका लागि संयुक्त रणनीति आवश्यक पर्ने भन्दै विगतबाटै सुरक्षा समितिहरुले संयुक्त रणनीति तय गर्दै आएका छन् ।
प्रतिक्रिया