पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सल्यान जीप दुर्घटना, आठ जनाको मृत्यु

चिन्तन खबर

सल्यान । सल्यानमा जिप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका–६ जलबाङ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप मंगलबार राति २ बजेतिर कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका–६ जलबाङका र एक जना रिमका रहेका छन् ।

मृत्यु हुनेमा सात जना पुरुष र एक जना महिला रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दिपेन्द्र केसीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–६ जलबाङका २१ वर्षीय चालक जितबहादुर बोहरा, ३७ वर्षीय धर्म ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली, रिमका ३५ वर्षीय ललित ओली रहेका छन् ।

दुर्घटनामा परी सख्त घाइते भएका कपुरकोट गाउँपालिका–६ कै ३५ वर्षीय तीलक ओलीको अहिले दाङको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। जीपमा सवार यात्रुहरु बिहे भोज खाएर फर्कंदै गरेको सूचना पाइएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले मृत्यु भएका सबैको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउन थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो ।