फिदिम । जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिदाँ पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ ।
जिल्लाको फिदिम नगरपालिका–११ फलाँटेस्थित पाथीभरा आधारभूत विद्यालयको तीन कोठे कच्ची भवन भत्कन थालेपछि गत वर्ष भत्काइयो । आ.व. २०७८÷०७९ को बजेटमार्फत फिदिम नगरपालिकाले नयाँ भवन निर्माणका लागि रु. १० रकमको प्रवन्ध गरेपछि नयाँ भवन निर्माण सुरु भयो । भवन मर्मतमा बजेट छुट्टिएपनि प्राविधिक स्टिमेट परिवर्तन गरी दुई कोठे भवन निर्माण थालियो ।
गत आ.व.को बजेटबाट दुई कोठे भवन निर्माणका लागि जग निर्माण र छत ढलानको कार्य पनि सम्पन्न भयो । तर भवनमा पर्खाल लगाउने, झ्याल ढोका राख्ने, रङ्गरोकन गर्न बजेट प¥याप्त थिएन ।
“विद्यालयको कोषमा रहेको ६० हजार रकम समेत निकासा गरी हालसम्मको निर्माण कार्य गरियो”, विद्यालयका प्रधानाध्यापक चित्रकला घिमिरेले भन्नुभयो, “तर यस वर्ष बजेट नछुट्टिदा हामी समस्यामा परेका छौं ।”
प्राविधिक स्टिमेटअनुसार जग निर्माण र छत ढलानको कार्य उक्त बजेटले सम्पन्न हुनुपर्ने थियो । तर विद्यालयसम्म मोटरबाटो आइनपुगेकाले निर्माण सामग्री मानिसले बोकेर ढुवानी गर्नुपर्ने भएपछि लागत बढ्यो । “रड, सिमेन्ट र बालुवाको करीब ३ लाख रुपैयाँ ऋण छ”, प्रअ घिमिरेले भन्नुभयो, “एकातिर भवन निर्माण अलपत्र छ, अर्कातिर ऋण लागेको छ ।”
यस विषयमा फिदिम नगरपालिकामा निवेदन दिइनुका साथै जनप्रतिनिधिलाई पटक–पटक आग्रह गरेको र प्रधानाध्यापकको बैठकमा आफूले कुरा राख्दै आएको भएपनि बजेटको प्रवन्ध नहुँदा समस्या भएको घिमिरेले वताउनुभयो ।
नगरपालिकाबाट सुरुआत भएको योजना भएकाले नगरबाटै सम्पन्न हुनुपर्ने आफूहरुले बुझेपनि भवन निर्माणलाई पूर्णता दिन बजेट नछुट्टिदा समस्या भएको फिदिम–११ का वडाध्यक्ष राजेन्द्रकुमार थापाले वताउनुभयो ।
“नगर प्रमुख, उपप्रमुख ज्यूलाई यहाँ आएर समस्या हेरिदिनुस् भनेर आग्रह गरेपनि उहाँहरु आउनुभएको छैन्”, थापाले भन्नुभयो, “वडासँग भवन निर्माण पूरा गर्ने बजेट छैन् ।” भवन निर्माणको योजना अलपत्र हुँदा विद्यार्थीको पठनपाठनमा असर परेको उहाँको भनाई छ ।
कक्षा ५ सम्म पढाई हुने यस विद्यालयमा अहिले ३५ जना विद्यार्थी छन् । एक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र दुई शिक्षक रहेको विद्यालयसँग अहिले तीन कोठे भवन छ । उक्त भवनमा कार्यालयसहित पाँच वटा कक्षा सञ्चालन गर्नुपर्दा शिक्षण सिकाई प्रभावित भएको प्रधानाध्यापक घिमिरेले वताउनुभयो ।
विद्यालयले एउटा कोठामा कार्यालय, पूर्वप्राथमिक कक्षा र कक्षा १, दोश्रो कोठामा कक्षा २ र ३ तथा तेश्रो कोठामा कक्षा ४ र ५ सञ्चालन गर्दै आएको उहाँले वताउनुभयो । “एकातिर प¥याप्त शिक्षक छैनौं, अर्कातिर भौतिक संरचनाको अभाव छ”, प्रअ घिमिरेले भन्नुभयो, “नयाँ भवनलाई पूरा गर्न पाए केही सहज हुने थियो ।”
प्रतिक्रिया