फिदिम । पाँचथरमा जन्मिएर, पढाई, रोजगारी, व्यावसाय र अन्य विभिन्न सिलशिलामा अमेरिका, कोरिया, मकाउ, मध्यपूर्वलगायत ठाउँमा रहनुभएका प्रवासी नेपालीले बसन्तकुमार नेम्बाङ जस्तो नेता पाँचथरले पाउनु गर्वको कुरा भएको बताउनुभएको छ ।
शनिवार ‘पाँचथरको विकासमा सहयात्री कार्यक्रम’ मार्फत पाँचथरका विदेशमा रहनु भएका जिल्ला बासीसँगको भर्चुअल छलफलमा प्रवासी नेपालीहरुले बसन्तकुमार नेम्बाङको योगदानले पाँचथरबासी भाग्यमानी भएको बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै पढाईको सिलशिलामा अमेरिकामा बस्नुभएका टंक सेलिङले पाँचथरका पद्मसुन्दर लावती पछिको विकासबादी नेता बसन्तकुमार नेम्बाङ नै भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘सडक निर्माण र विकास निर्माणमा काम गर्ने अर्को व्यक्ति भनेको बसन्त दाई हो । दाईले विकासको नयाँ मोडल ल्याउनु भएको थियो । कामका आधारमा नेपालमै बसन्त नेम्बाङ भनेर चिनिन्छ यो पाँचथरे जनताका लागि गर्व गर्न लायक छ ।’
पार्टी, जाती, भुगोल नमिल्दा मान्छेले गरेन भन्ने टाइपको हुन्छ तर त्यो होइन विकासको नयाँ मोडल ल्याउनु भएको छ , उहाँको काम गर्व गर्न लायक भएको सेलिङले भन्नुभयो ।
त्यस्तै मकाउमा बस्नुहुने रविन विष्टले बसन्तकुमार नेम्बाङको योगदानका कारण पाँचथरे जनता भाग्यमानी भएको बताउनुभयो । उहाँले अब नेपालमै रोजगारीका लागि नयाँ कार्यक्रमहरु ल्याउन अनुरोध गर्नुभयोे । दक्षिण कोरियामा रोजगारीका सिलशिलामा रहनुभएका शेशेफुङ शेर्माले बसन्तकुमार नेम्बाङ पाँचथरलाई मात्र नभएर देशलाई नै चाहिने नेता भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बसन्तदाईले हारे पाँचथरे जनतालाई देश भरिका जनाताले नै धिकार्ने छन् ।’
कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा पाँचथरबाट प्रतिनिधिसभाका उम्मेदवार बसन्तकुमार नेम्बाङले यसअघि पनि पाँचथरे जनताको शिर ठाडो पार्ने काम गरेको बताउनुभयो । नेम्बाङले भन्नुभयो ‘म जनताको साथि हुँ, मैले जनताको शिर उचो हुने काम गरेको छु । मेरो कारण कसैले शिर निहुर्याउने काम गरेको छैन ।’ उहाँले आफुले गरेका काम भेदभाव रहित भएको बताउनुभयो ।
प्रतिक्रिया