पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा अर्याल, थापा र कार्कीको उम्मेदवारी

चिन्तन खबर

विराटनगर। नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा अमृत अर्याल, उद्धव थापा र केदार कार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रदेश १ मा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकबाट १३ गरी २९ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । संसदीय दलको नेतामा उम्मेदवारी दिएका अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र समर्थकमा सुनिता कुमारी गुरुङ, थापाको प्रस्तावकमा भीम पराजुली र समर्थकमा भुपेन्द्र राई र कार्कीको प्रस्तावकमा रामकुमार खत्री तथा समर्थकमा शम्सेर राई रहेका छन् । दलको नेता चयन सर्वसम्मत गर्न भन्दै गरिएका प्रयास असफल बनेपछि उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

निर्वाचन समितिले आज दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको हो । दलको नेताका लागि संस्थापन पक्षबाट पार्टी केन्द्रीय सदस्य अर्याल, सिटौला समूहबाट पार्टी प्रदेश समितिका सभापति थापा र कोइराला समूहबाट कार्कीको उम्मेदवारीले दलको नेतामा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको हो । सिटौला समूहबाटै आकांक्षी देखिएका केन्द्रीय सदस्य भीम पराजुलीले भने थापालाई समर्थन गरेका छन् ।