काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी बुझाएर रिहा भएका छन्। केन्द्रीय कारागारमा रहेका लामिछाने उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम धरौटी तिरेर रिहा भएका हुन् ।
सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटीको रकम बुझाएका छन्। पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी माग गरेका थिए ।
सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले अदालतले दिएको सर्तहरुको बारेमा सन्दीपलाई जानकारी गराइसकेको बताए। बलात्कार गरेको आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। सन्दीप बाहिर निस्कँदा उनका समर्थकहरुले उनको पक्षमा नारा लगाएका थिए ।
उनी रिहा हुँदा उनलाई लिन बाबुआमा कार लिएर पुगेका थिए। सन्दीप रिहा हुने क्रममा उनका सयौँ समर्थक केन्द्रीय कारागार परिसरबाहिर पुगेका थिए। उनीहरुले सन्दीपको पक्षमा नाराबाजी पनि गरे। सन्दीपले निस्किएपछि समर्थकहरुलाई धन्यवाद दिँदै घरतिर लागे।
प्रतिक्रिया