Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
ठेला चलाउने युवकको आत्मदाहबाट सुरु भएको त्यो अरब विद्रोह « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

ठेला चलाउने युवकको आत्मदाहबाट सुरु भएको त्यो अरब विद्रोह

चिन्तन खबर

काठमाडौं । सन् २०१०, डिसेम्बर १७ । सडकमा ठेलामा तरकारी बेच्ने ट्युनिसियाका एक युवाले प्रहरी ज्यादतीको विरोध गर्दै आत्मदाह गरे । सन् २०११, जनवरी ४ मा आत्मदाह गर्ने २६ वर्षीय मोहमद बोआजीजीको निधन भयो ।

उनको निधनपछि महँगी र राष्ट्रपति जिने एल अबिदिन बेल अलीविरुद्ध देशव्यापी प्रदर्शन सुरु भयो । १० दिनपछि बेन अली देश छाडेर साउदी अरब भाग्न बाध्य भए । उनको २३ वर्ष लामो शासनको अन्त्य भयो । आन्दोलनको बलमा सत्ताच्यूत हुने उनी पहिलो अरब शासक बने ।

ट्युनिसियाको प्रदर्शनको सफलतापछि अन्य अरब राष्ट्रहरूमा आन्दोलन आगो जसरी फैलियो । एकपछि अर्को देशमा जनता अधिनायकवाद, भ्रष्टाचार र गरिबीविरुद्ध सडकमा उर्लन थाले ।

इजिप्ट

सन् २०११, जनवरी २५ मा इजिप्टिका हजारौँ जनता राजधानी कायरो, अलेक्जाड्रिया लगायत सहरमा सडकमा उत्रिए । ३० वर्षदेखि सत्तासीन राष्ट्रपति होस्नी मुबारकले सत्ता छाड्नुपर्ने उनीहरूको माग थियो ।

फेब्रुअरी ११ मा लाखौँ जनता सडकमा उत्रिएपछि मुबारकले राजीनामा दिँदै सत्ता सेनालाई सुम्पिए । सन् २०१२ मा मुस्लिम बदरहुड निकट मोहमद मोर्सी नेतृत्वको सरकार निर्वाचित भयो । तर एक वर्षपछि नै उनलाई सैनिक जनरल अब्देल फताह एल–सीसीले हटाउँदै शासन सत्ता आफ्नो हातमा लिए ।

बहराइन

सोही वर्षको फेब्रुअरी १५ मा तहरिर स्क्वेयरमा प्रदर्शनकारीहरु भेला भएर देशमा संवैधानिक राजतन्त्र लगायतका सुधारहरु माग गरे । तर, उनीहरुलाई तीन दिनपछि नै सुरक्षाकर्मीहरुले बलजफ्ती त्यहाँबाट हटाए । सो क्रममा तीन जनाको मृत्यु भयो भने कयौँ घाइते भए ।

लिबिया

बहराइनमा प्रदर्शन सुरु भएकै दिन लिबियाको बेनझागी सहरमा सरकारविरुद्धको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गरेको थियो । देशका नेता मुहामर गद्दाफीले आफूविरुद्ध प्रदर्शन गर्ने ‘मुसा’ हरूलाई खोजेर सिध्याउने प्रतिबद्धता नै व्यक्त गरे ।

तर बिस्तारै सरकारविरुद्धको प्रदर्शन गृहयुद्धमा बदलियो जसमा फ्रेन्च, बेलायती र अमेरिकी सैनिकहरूले हस्तक्षेप गरे । सन् २०११, अक्टोबर २० मा लुकिरहेका गद्दाफीलाई विद्रोहीहरूले पक्रेर हत्या गरेका थिए । देशमा अहिले पनि अशान्ति कायम छ ।

सिरिया

मार्च ६ मा केही युवाहरूले आफ्नो विद्यालयको भित्तामा आँखाको डाक्टरसमेत रहेका राष्ट्रपति बसर अल–असदलाई लक्षित गर्दै ‘डाक्टर, अब तिम्रो पालो’ भनेर लेखे । ती युवाहरूलाई सुरक्षाकर्मीले पक्राउ गरेर यातना दिएपछि प्रजातान्त्रिक सुधारको माग गर्दै शान्तिपूर्ण प्रदर्शन सुरु भयो ।

तर, सरकारले हिंसात्मक दमन गरेपछि प्रदर्शन गृहयुद्धमा परिणत भयो । सिरियाको युद्धबाट नै आईसीस समूहको उदय भयो र छिमेकी इराकमा समेत त्यसको असर देखियो ।

ट्युनिसियामा पहिलो निर्वाचन

सन् २०११, अक्टोबर २३ मा ट्युनिसियामा पहिलोपटक स्वतन्त्र निर्वाचन भयो । एनाहदा अभियानका सदस्यहरुले सो निर्वाचन जितेका थिए ।

यमनमा सालेह बाहिरिए

एक वर्ष लामो प्रदर्शनपछि सन् २०१२, फेब्रुअरी २७ मा यमनमा ३३ वर्ष शासन गरेका अली अब्दुल्लाह शालेहले शासन सत्ता आफ्ना डेप्युटी अब्द्राबुह मन्सुर हादीलाई सुम्पिए । अरब क्षेत्रको सबैभन्दा गरिब राष्ट्रमा पनि शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शनपछि हिंसात्मक बनेको थियो ।

मस्कोले बचायो अल–असादलाई

सिरियाका राष्ट्रपति अल–असादलाई इरानसँगै रुसको समर्थन रहेको थियो । सन् २०१५ सेप्टेम्बर ३० मा रुसले सिरियाका विद्रोहीविरुद्ध हवाई कारबाही सुरु गर्‍यो जसले युद्धको दिशा नै बदलियो । १० वर्षको युद्ध र ३ लाख ८० हजार जनाको मृत्युपछि अल–असादले जीत हासिल गर्न सफल भए । (अलजजिराबाट)