काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।
बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई भदौ २३ मा निलम्बन गरेको थियो । सन्दीपलाई पुष २९ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न दिएको थियो ।
सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने भन्ने अदालतको आदेशमा उल्लेख छैन । तर सन्दीप पक्षका कानुनी व्यावसायीले उनलाई टोलीमा राख्नुपर्ने माग गरेका छन् । तर उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा मंगलबार निवेदन दिएको छ ।
भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् । सन्दीपले असोज २० मा त्रिभुवन विमानस्थलबाट आत्मसमर्पण गरेका थिए ।
प्रतिक्रिया