फिदिम । यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति श्रष्टा सम्मानबाट साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा सम्मानित हुनुभएको छ । अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले वर्षेनि प्रदान गर्दै आएको रु. ५० हजार राशी सहितको उक्त सम्मानबाट मुकारुङ र ओझा सम्मानित हुनुभएको हो ।
विहीवार पाँचथरको फिदिममा अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान र याक्थुङ लेखक संघले आयोजना गरेको स्वर्गीय अमरकुमार नेम्बाङ लिम्बूको चौथो स्मृति दिवस, श्रष्टा सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रममा श्रष्टाद्वयलाई सम्मान गरिएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रथम अध्यक्ष अमरकुमार नेम्बाङको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्बेले श्रष्टाद्वयलाई सम्मान–पत्र र दोसल्लाले सम्मान ब्यक्त गर्नुभएको थियो ।
भोजपुर घर भएका मुकारुङ काठमाडौंमा बसेर साहित्य साधनामा संलग्न हुनुहुन्छ भने ओझा पाँचथरको फिदिममा रहेर साहित्यिक लेखन, प्राध्यापन तथा सामाजिक क्षेत्रमा सक्रिय रहनुभएको छ । सम्मान ग्रहणपछि मुकारुङले अमरकुमार नेम्बाङजस्तो शीखर ब्यक्तित्वका नामको सम्मान प्राप्त गर्न पाउँदा आफूलाई खुशी लागेको वताउनुभयो ।
प्रतिष्ठानले श्रष्टा सम्मानबाट २०७८ मा शारदा सुब्बा र बिना थिङ, २०७७ मा प्रा.डा. गोविन्दराज भट्टराई र वीर नेम्वाङ तथा २०७६ मा डा. देवी क्षेत्री दुलाल र मुनाराज शेर्मा सम्मानित हुनुभएको थियो ।
कार्यक्रममा कवि समदर्शी काँइलाको कविता सङ्ग्रह ‘नयाँ इश्वरको अवतार’ विमोचन गरिएको थियो । कृतिमाथि पाँचथर बहुमुखी क्याम्पसका सहप्राध्यापक खड्गनारायण आङ्देम्बेले समीक्षा गर्नुभएको थियो ।
सोही अवसरमा अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले जेहेन्दार विद्यार्थी प्रोत्साहन, दैवी प्रकोपका प्रभावितलाई राहत वितरण समेत गरेको छ । रु. १० हजार राशीको जेहेन्दार विद्यार्थी प्रोत्साहनबाट जिल्लाको फाल्गुनन्द गाउँपालिका–७ स्थित जयनारायण आदर्श माध्यमिक विद्यालयकी छात्रा भूमिका स्याङतान पुरस्कृत भइन् ।
प्रतिष्ठानले गत वर्ष पहिरोमा परी ज्यान गुमाएका फिदिम नगरपालिका–४ का ममता मगर र रोयल मगर तथा फालेलुङ गाउँपालिका–७ का रुपलाल मगर, गोमा मगर र एलिसा मगरको परिवारलाई राहत उपलब्ध गराएको छ ।
यस्तै आगलागीमा परी मृत्यु भएका फिदिम–७ का आशाहाङ थेबे र ममता गुरुङ तथा फिदिम–१३ का सुकमति नेम्बाङको परिवारलाई राहत वितरण गरिएको हो । प्रत्येक परिवारलाई रु. १० हजारका दरले राहत उपलब्ध गराइएको कार्यक्रमको आयोजक याक्थुङ लेखक संघका महासचिव मधुराज केरुङले जानकारी दिनुभयो ।
साहित्यकार समेत रहनुभएका नेम्बाङको २०७५ माघ २६ गते आकस्मिक निधन भएको थियो । लिम्बू समुदायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्ने पहिलो ब्यक्ति नेम्बाङ गाउँमै बसेर पञ्चायत कालदेखि गणतन्त्रसम्म स्थानीय जनप्रतिनिधिको भूमिकामा रहनुभएको थियो । साहित्यमा उहाँ ‘इको राइटिङ’का अभियन्ता हुनुहुन्थ्यो । उहाँका ‘सम्झनाका तरेली’, ‘अमेरिका भ्रमणका सम्झनाहरु’, ‘एउटा साँझको अवशान’ लगायत कृतिहरु प्रकाशित छन् ।
नेम्बाङको वि.सं. १९९८ सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा बुवा नयेन्द्रराज नेम्बाङ र आमा श्रीहाङ्मा नेम्बाङको कोखबाट जन्म भएको थियो । भारतको दार्जिलिङमा समेत अध्ययन गर्नुभएका नेम्बाङले २०२५ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तिर्ण गर्नुभएको थियो । उच्च शिक्षा हाँसिल गरेपनि गाउँमै बस्नुभएका उहाँ २०३३ सालमा तत्कालीन चिलिङ्दिन गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित हुनुभएको थियो ।
त्यसपछि उहाँ निरन्तर जनप्रतिनिधि एवम् सामाजिक अगुवाको रुपमा सक्रिय नेम्बाङ प्रथम स्थानीय तह निर्वाचनबाट फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष निर्वाचित हुनुभएको थियो । फाल्गुनन्द गाउँपालिका ५ नं. वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा मन्तब्य राख्ने क्रममा अचानक बेहोस हुनुभएका उहाँको २०७५ माघ २६ गते निधन भएको थियो । उहाँलाई नेपाल सरकारले २०७५ मा सुप्रवल जनसेवाश्री पदकले बिभुषित समेत गरेको थियो ।
प्रतिक्रिया