फिदिम । पाँचथरको फिदिम नगरपालिका वडा नं. ६ मा वर्षेनि लाग्ने अर्थे मेलाका अवसरमा आयोजित नकआउट पुरुष भलिबल प्रतियोगिताको शनिवार फाइनल खेल थियो । करीब १ः३० बजे सुरु भएको मेला तथा भलिबल प्रतियोगिताको समापन कार्यक्रम निकै लामो चल्यो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बो तथा विशिष्ट अतिथिमा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले हुनुहुन्थ्यो । आसन ग्रहणको अनुरोधको लामो सूचीपछि मन्तब्यको क्रम चल्यो । वडा कार्यालय नजिकै रहेको खेलमैदानमा बल्लतल्ल करीब ३ः३० बजे फाइनल खेल सुरुआत भएको थियो ।
फाइनल खेलमा प्रतिस्पर्धी थिए पाँचथरको मिक्लाजुङ गाउँपालिका र ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका । आठ समूहले भाग लिएकामा दुई/दुई खेल जित्दै दुवै टोली फाइनल पुगेका थिए । फाइनलको पहिलो सेट पाथीभरा याङवरकले जित्यो । दोश्रो र तेश्रो सेटमा मिक्लाजुङले निकै कठीन जीत निकाल्यो । बाँकी थिए, दुई सेट ।
साँझ पर्न लागेका कारण हावा चलिरहेको थियो भने खेलाडीहरु निकै असहज मानिरहेका थिए । चौथो सेट सुरु भएपछि हावाले वल र जालीको सन्तुलन विगार्दा खेलाडी, प्रशिक्षक र रेफ्री समस्यामा परिरहेका थिए । चौथो सेटमा मिक्लाजुङले १२–१० अङ्क सहित अग्रता लिइरहेको थियो ।
यत्तिकैमा पाथीभरा याङवरकका खेलाडीले साँझ पर्न लागेर ‘भिजिविलिटी’ कमजोर बनेको, हावा चलेको लगायत कारणले खेल रोक्न माग गरेका थिए । मुख्य रेफ्री भलिवल संघ पाँचथरका अध्यक्ष बविन चौहान निर्णयमा पुग्न सकिरहनु भएको थिएन । यता तयारीअनुसार खेल सम्पन्न गर्नुपर्ने बाध्यतामा थियो आयोजक ।
फाइनल खेल भएकाले रोक्न नमिल्ने आयोजक, खेल ब्यवस्थापक, रेफ्री लगायतको तर्क थियो । तर विहीवार साँझ परेकै कारण सेमीफाइनलको एउटा खेल रोकिएको भन्दै ताप्लेजुङ खेल्न तयार भएनँ ।
दिउँसो २ बजेबाट खेल सुरुआत गर्न माग गर्दा नखेलाइएको भन्दै रोष प्रकट गरेका ताप्लेजुङका खेलाडीहरुले कुनै प्रतिक्रिया भने दिएनन् ।दर्शकहरुका अनुसार विहीवार पाँचथरको फाल्गुनन्द गाउँपालिका र पाथीभरा याङवरकको सेमीफाइनलको खेल साँझ परेका कारण स्थगन गरी शुक्रवार खेलाइएको थियो ।
लामो छलफलले निश्कर्ष नदिएपछि आयोजकका खेल ब्यवस्थापक कमल तुम्रोकको सल्लाहबमोजिम रेफ्री चौहानले खेल अघि बढाउनुभयो । मिक्लाजुङका खेलाडीले गोल भलेर ताप्लेजुङको कोटतर्फ पठाए । तर ताप्लेजुङका खेलाडीले हेड गर्दै गोल बाहिर फालिदिए । यत्तिकैमा ताप्लेजुङका खेलाडीहरु, टिम ब्यवस्थापक र प्रशिक्षक मैदानबाट बाहिरिए । नजिकै रहेको सडकमा पुगे र सवारी साधन लिई फिदिमतर्फ लागे । कतिपय दर्शकले के भएको हो भन्नेसमेत थाहा पाएनन्, न त आयोजकले नै जानकारी दिन सके ।
समस्यामा परेका आयोजकले मुख्य रेफ्रीसँग सल्लाह लिए र मिक्लाजुङलाई विजेता घोषणा गरिदिए । मिक्लाजुङका खेलाडीले विधागत पुरस्कार, प्रथम पुस्कारको ट्रफी, मेडल र प्रमाणपत्र ग्रहण गरेपनि ताप्लेजुङका कोहीपनि खेलाडी मैदानमा देखा परेनन् । प्रथम भएको मिक्लाजुङले रु. ८० हजार तथा द्वितीय ताप्लेजुङले रु. ५० हजार पुरस्कार प्राप्त गरेको अर्थे मेला ब्यवस्थापन समितिका संयोजक दील तुम्रोकले जानकारी दिनुभयो ।
हेर्नुहोस् भिडियोमा
प्रतिक्रिया