काठमाडौँ: ओपनर कुशल भुर्तेलको शतकमा नेपालले आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि दुई विकेटको ऐतिहासिक जित हात पारेको छ । यो ओडिआई क्रिकेट इतिहासमा नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो ।
टियु मैदान किर्तिपुरमा जितको लागि २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले यसअघि ओडिआईमा पूरा गरेको सर्वाधिक उच्च योगफल २०१९ मा युएईविरुद्ध तेस्रो खेलमा २ सय ४४ रनको विजयी लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।
नेपालका लागि कुशल भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय रनको शतकीय ईनिङ खेले । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो । टी-ट्वान्टी अन्तराष्ट्रिय तथा एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी हुन् ।
यसअघि पारस खड्का र दीपेन्द्र सिंह ऐरीले दुवैमा शतक प्रहार गरेका थिए । कुशल एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने नेपालका पहिलो ओपनर पनि हुन् ।
कप्तान रोहित पौडेलले ७६ बलमा ७२ रन बनाए । रोहितले ७ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै, सन्दीप जोराले २४ बलमा २८ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे ।
पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा २५ बनाए । करण केसीले १२ बलमा २० रनमा बनाए । सन्दीप लामिछाने गोल्डेन डग आउट भए । नामिबियाका लागि रुवेल ट्रम्पेलम्यान र जान निकोलले समान ३/३ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रनमा अल आउट भयो । नामिबियाका शीर्षक्रमका ब्याटर माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेले ।
उनी नामिबियाबाट एक खेलमा ओडिआईमा सर्वाधिक रन हान्ने दोस्रो खेलाडी हुन् । नामिबियाका जेपी कोट्जेले २०१९ मा अमेरिकाविरुद्ध १ सय ३६ रनको इनिङ् खेलेका थिए ।
माइकल करण केसीको बलमा डिप मिडविकेटमाथि छक्का हान्ने धुनमा ४७ औं ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । त्यस्तै, कप्तान जेरार्ड इरास्मस ७९ बलमा २ चौका र ३ छक्कासहित ५६ रनमा क्याच आउट भए ।
तेस्रो विकेटका लागि जेरार्ड र लिंगेनले १ सय २४ रनको सानदार शतकीय साझेदारी गरेपछि बलियो योगफलमा पुगेको हो । कुशल मल्लले ३७ औं ओभरको पहिलो बलमा जेरार्डलाई सन्दीपबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेका थिए ।
माइकलले ब्यक्तिगत ५६ रनमा जीवनदान पाएका थिए । स्पिनर कुशल मल्लको २६ औं ओभरको अन्तिम बलमा रोहित पौडेलले मिडअनमा माइकलको क्याच छाडेका ५६ रनमा क्याच ड्रप गरेका थिए ।
तीव्र गतिका बलर सोमपाल कामीले चोभार एण्डबाट बलिङ गर्दै तेस्रो ओभरको पाँचौं बलमा ओपनर लो ह्यान्डरे लरेन्सलाई ५ रनमा बोल्ड आउट गरेका थिए । त्यसपछि लेग स्पिनर सन्दीप लामिछानेले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टकलाई १३ रनमा बोल्ड आउट गर्दै पूनरागमन गरेका थिए ।
चोभार एन्डबाट आएका सन्दीपले आफ्नो स्पेलको दोस्रो बलमै विकेट लिँदै साझेदारी तोडेका थिए । सन्दीपले बलात्कार आरोप लागेपछि गत भदौपछि नेपाली टोलीमा पूनरागमन गरेका हुन् ।
त्यस्तै, जान निकोल लोफ्टी ८ र ज्यान फ्रिलिंक १३ रनमा आउट भए । जेन ग्रिनले १९ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए ।
नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर १ विकेट लिए ।
प्रतिक्रिया