Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सुनसान गुप्तेश्वर महादेव स्थान, प्रचार र प्रवर्द्धनमा जुट्दै गाउँपालिका « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सुनसान गुप्तेश्वर महादेव स्थान, प्रचार र प्रवर्द्धनमा जुट्दै गाउँपालिका

चिन्तन खबर

फिदिम । मनोकाङ्क्षा पूरा हुने गरेको विश्वास गरिने पाँचथरको याङवरक गाउँपालिकामा अवस्थित गुप्तेश्वर महादेव स्थान अहिले सुनसान छ । गुप्तेश्वर महादेवको दर्शनबाट मन शान्ति, धन र सन्तान प्राप्ति हुने पूर्वी पहाडका दर्शनार्थीले विश्वास गर्ने गर्दछन् । तर प्रचारको अभावमा गुप्तेश्वर महादेव स्थान पुग्ने दर्शनार्थीको सङ्ख्या निकै कम हुने गरेको छ ।

पाँचथरको याङवरक गाउँपालिका वडा नं. ३ ओयाममा रहेको गुप्तेश्वर महादेव स्थानमा गुफाभित्र गोरुको स्वरुपका महादेव रहनुभएको विश्वास गरिन्छ । निरन्तर पानी बगिरहने यो गुफा सानोभित्र विभिन्न देवाकृतिहरु देख्न सकिन्छ । महादेव गुफाभित्र रहेको विश्वासका कारण यस स्थानलाई गुप्तेश्वर महादेव स्थान भन्ने गरिएको छ ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा पर्ने याङवरक–३ को ओयाम बजारबाट उक्त स्थानमा पुग्न सकिन्छ । गुप्तेश्वर महादेव स्थान नजिकै इङ्वाखोला जलविद्युत आयोजनाको विद्युत गृह निर्माण भइरहेका कारण सडकबाट बाह्रै महिना महादेव स्थानमा पुग्न सकिने स्थानीयवासी मचिन्द्र सेलिङले वताउनुभयो ।

गुप्तेश्वरको महिमा

ओयामका ९० वर्षीय लालबहादुर न्यौपानेका अनुसार साक्षात महादेवको दर्शन गुप्तेश्वर महादेव स्थानमा आएर गर्न सकिन्छ । यहाँ गाउँघरमा रहेको जनश्रुतिअनुसार गाई वस्तुले प्रत्येक दिन बाली खाइदिने भएपछि किसानहरुले के ले बाली खायो भनेर खोजी गरेका थिए । एक दिन लुकेर ढुक्ने क्रममा एउटा कैलो गोरुले धान खान थाल्यो । किसानहरुले गोरुलाई लखेटे । गोरु अल्लोघारी रहेको घना जङ्गलतर्फ लाग्यो ।

भाग्ने क्रममा गोरु ढुङ्गामाथि चढेर हिँडेपछि देख्नेहरु आश्चार्यमा परे । अहिले गुप्तेश्वर महादेव स्थान भएका ठाउँमा ‘गाइखुरे’ नामका ढुङ्गा छन् । गोरु हिँडेका पाइला भएका स्थानलाई नै गाइखुरे ढुङ्गा भनिएको किबन्दती रहेको छ । गोरु घुमेर अहिले महादेव स्थान रहेको स्थानबाट हरायो । गाउँघरका मानिसहरु भेला भएर खोज्दै जाँदा त्यहाँ महादेव स्थान रहेको पत्ता लाग्यो । गोरु छिरेको गुफाभित्र मूर्ति, देवाकृतिहरु र पानीको धारा भेटिएपछि यहाँ महादेव स्थान रहेको निश्कर्ष निकालिएको न्यौपानेको भनाई छ ।

उक्त स्थानमा वि.सं. १९६५ सालतिर मन्दिर निर्माण भएको स्थानीयवासी बताउँछन् । सो समयमा उक्त क्षेत्रका अगुवा महासेठ बालन्द सुब्बाले मन्दिरको उत्थानमा ठूलो योगदान दिएको र मन्दिरमा धेरै घण्टहरु दान गरेको आफूहरुले पितापुर्खाबाट सुनेको बयोवृद्ध न्यौपानेको भनाई छ । उक्त स्थानमा इन्द्रवती मेला लाग्ने गरेको थियो भने बालाचतुर्दशीका दिन सद्बिज छर्नेको घुँइचो हुन्थ्यो । महासेठ सुब्बाले दान गरेका ठूल्ठुला घण्टहरु भने हराएका छन् ।

यहाँ निर्माण भएको मन्दिर पनि निकै आकर्षक र पृथक छ । कालो दाल पिसेर भिजाई सिमेन्टका रुपमा प्रयोग गरिएका कारण मन्दिरको संरचना दर्बिलो रहेको स्थानीयवासी बताउँछन् । यस स्थानका ढुङ्गा पनि अन्यत्रका भन्दा फरक छन् ।

यस स्थानमा नयाँ मन्दिर निर्माण गर्ने कुराकानी चलेपनि कालीगढले पुरानो मन्दिर भत्काउन नमानेपछि पुरानै मन्दिर कायम राखिएको छ । भगवानको शक्ति रहेकै कारण यहाँ रहेका ठूल्ठुला रुख लड्दा मन्दिर जोगाएर आफैं ढल्ने गरेको बयोवृद्ध न्यौपानेको भनाई छ ।

गुफाभित्र ढुङ्गाको दीयो रहेको छ । यहाँ निरन्तर पानी झरिरहन्छ । भगवान शीवको मूर्तिमा पानीका थोपा झर्ने गरेको देख्न सकिन्छ । गुफा डरलाग्दो रहेका कारण एक्लै जाँदा कठिन पर्ने गुप्तेश्वर महादेव स्थान संरक्षण समितिका उपाध्यक्ष सीताराम न्यौपानेको भनाई छ ।

“यहाँको दृश्य हेर्दा भगवान साक्षात रहेको अनुभूत गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “तर गुफा भित्र छिरेर दर्शन गर्न एक्लैलाई भने डर लाग्छ ।” गुफा करीब १५ मिटर लामो छ । कतिपयले यस स्थानमा नाग पनि भेटेका छन् भने कतिपयले बेलुकीको समयमा गाई हिँडडुल गरेको आवाज सुन्ने गरेका छन् ।

पूर्वाधार र प्रचारको आवश्यकता

ओयामका रुपबहादुर न्यौपाने गुप्तेश्वर महादेव स्थानको अत्यधिक ठूलो महत्व रहेको वताउनुहुन्छ । “यो मन्दिरमा जसले दुःख परेर केही चिताएर आउँछ, उसको इच्छा पूरा हुने गरेको छ । हामीले छोराछोरी नभएका, रोग विराम लागेका कयौं भक्तजनहरु समस्या समाधान भएको भनेर पुनः दर्शनका लागि आएको पाएका छौं”, न्यौपानेले भन्नुभयो, “यस स्थानको विशिष्ट धार्मिक महत्व रहेकै कारण पहिल्यैदेखि चर्चित बनेर रहेको छ ।”

गुप्तेश्वर महादेव स्थान संरक्षण समितिका उपाध्यक्ष सीताराम न्यौपाने उक्त स्थानलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न देश विदेशमा प्रचार–प्रसार गर्नुपर्ने वताउनुहुन्छ । “विगतमा अष्टादश पुराण लगाइएको थियो । हामी पनि मन्दिरको संरक्षणमा निरन्तर सक्रिय छौं”, उहाँले भन्नुभयो, “ओयामबाटै याङवरक गाउँपालिका अध्यक्ष र नयाँ वडाध्यक्ष निर्वाचित भएपछि यस स्थानको विकासमा सबैको सक्रियता बढेको छ ।”

विगतका केही वर्ष निश्क्रिय भई हाल सक्रिय बनेको संरक्षण समितिको खातामा रु. ३ लाख बचत रहेको उहाँले वताउनुभयो । प्रचार–प्रसार र पूर्वाधार विकासमा विशेष जोड दिनुपर्ने उहाँको माग छ । अहिले पनि मन्दिरको शीरमा चरीबाघ बस्ने गरेको स्थानीयवासी बताउँछन् । यद्यपि उक्त बाघले अहिलेसम्म कसैलाई आक्रमण नगरेको उनीहरुको भनाई छ ।

याङवरक–३ का वडाध्यक्ष बिमल राईका अनुसार गुप्तेश्वर महादेव स्थानको विकास र प्रचार–प्रसारका लागि पुरानो समितिलाई पुनर्गठन गरी सक्रिय बनाइएको छ । यस्तै गाउँपालिकाले उक्त स्थानको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी सोही आधारमा काम गर्न लागेको छ ।

“साक्षात भगवानको दर्शन पाइने विश्वास गरिने यस स्थललाई पर्यटकको आकर्षणको स्थान बनाउन हामी लागिपरेका छौं”, वडाध्यक्ष राईले भन्नुभयो, “अब समिति पनि सक्रिय भएको छ । धार्मिक गतिविधिहरु तथा प्रचार–प्रसारलाई बढावा दिन्छौं ।” आफ्नो अध्ययनबाट गुप्तेश्वर महादेव स्थान पूर्वकै एक विशिष्ट धार्मिक स्थल रहेको भएपनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको वडाध्यक्ष राईको बुझाई छ ।

सोही वडाका बासिन्दा रहनुभएका याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुबास) गुप्तेश्वर महादेवको महिमालाई संसारभर प्रचार–प्रसार गरेर धार्मिक पर्यटक भित्र्याउने आफ्नो योजना रहेको वताउनुहुन्छ । “पाथीभरा आउने सबै दर्शनार्थीलाई यस स्थानसम्म ल्याउने ब्यवस्था गर्नेतर्फ हाम्रो ध्यान गएको छ”, उहाँले भन्नुभयो, “यस स्थानको प्रचार–प्रसार र सम्वद्र्धनमा हामी लाग्नेछौं ।”

गुप्तेश्वर महादेव स्थानमा शताब्दीअघि नै मेला लाग्ने, धार्मिक अनुष्ठान हुने गरेको दृष्टान्तले पनि उक्त स्थान महत्वपूर्ण धार्मिक क्षेत्र रहेकामा कुनै शङ्का नरहेको गाउँपालिका अध्यक्ष योङ्याको भनाई छ ।