बिर्तामोड । झापा बिर्तामोडमा एकजना युवकले आज मंगलबार अपरान्ह आत्मदाहको प्रयास गरेका छन् ।
बिर्तामोड ७ बस्ने ३४ वर्षीय विजय चौधरी नामका युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले अपरान्ह साढे ४ बजे चौधरीले मुक्तिचोकमा गई आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताए ।
घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको प्रहरी प्रवक्ता रिजालले बताए । प्रहरी र स्थानीयले आगो निभाएर उनलाई अटोमा हालेर हस्पिटल लगेका हुन् । उनको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । उनको बीएण्डसी हस्पिटलको एचडीयुमा उपचार भइरहेको छ ।
उनलाई पैदलयात्रीहरुले तत्कालै बचाएको बिर्तामोडका डिएसपी कार्की बताउँछन् । ‘आगलागी हुनासाथ बाटो हिड्ने मान्छेले देखेर तत्कालै आगो निभाएछन् । नजिकका प्रहरीहरु नपुग्दै आगो निभेको थियो । उनले पातलो कुर्था लगाएका थिए डिएसपी कार्कीको भनाई छ ।
चौधरी बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका फ्यान भएको र उनले आफ्नो पाखुरामा प्रसाईको टाटु नै बनाएको बताइएको छ ।
चिकित्सकलाई उद्धृत गर्दै डीएसपी कार्कीले आत्मदाह प्रयासको कारण खुलिनसकेको बताए । आत्मदहको प्रयास गर्ने चौधरीले प्रहरीसँग संक्षिप्त कुरा गर्दै घटना हुनुमा पारिवारिक समस्या देखाएका छन् । चौधरी बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे । उनी बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईको सहयोगीको रुपमा रहेका थिए । तर, केही महिनादेखि उनी बेरोजगार रहेको बताइएको छ ।
प्रतिक्रिया