पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथरको रानीटार माविः जहाँ शिक्षक र विद्यार्थी जातीय पोशाकमा भेटिन्छन

विपुल अधिकारी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा अवस्थित रानीटार माध्यमिक विद्यालयमा साताको हरेक सोमबार र विहीवार विद्यार्थी तथा शिक्षकहरु आ–आफ्नो जातीय पोशाकमा भेटिने गर्छन । यस दिन उक्त विद्यालय पुग्दा यहाँ कुनै साँस्कृतिक कार्यक्रम होला भन्ने अनुभूति हुन्छ । नामजस्तै सुन्दर वस्तीको वीचमा अवस्थित यस विद्यालयमा विद्यालय समय भएपछि विद्यार्थी र शिक्षकहरु वरिपरिका गाउँ वस्तीबाट विद्यालयतर्फ अघि बढ्छन् । धेरै जातजातिको बसोबास रहेका कारण विद्यार्थी तथा शिक्षकहरु आ–आफ्नो जातीय पोशाकमा सजिएर विद्यालय आएको दृश्य निकै आकर्षक देखिन्छ ।

गुरुङ, तामाङ, लिम्बू, राई, ब्राम्हण क्षेत्री र दलित समुदायका विद्यार्थी पठनपाठन गर्ने यस विद्यालयमा केही सिमितबाहेक यहाँ अधिकांश विद्यार्थी र शिक्षकहरु साताका यी दुई दिन मौलिक पोशाकमा सजिएर विद्यालय पुग्ने गर्दछन् । थरीथरीका पोशाकले कक्षाकोठामा बसेका विद्यार्थीहरुको विविधता पनि निकै आकर्षक देख्न सकिन्छ ।

विद्यालयको ब्यवस्थाअनुसार प्रत्येक हप्ताको सोमवार र विहीवार शिक्षक र विद्यार्थीहरु आ–आफ्नो जातीय पोशाकमा सजिएर विद्यालय आउने क्रम नियतिम र ब्यवस्थित पनि भइसकेको छ । केही समय अघिबाट सुरुआत भएको यो कार्यमा अहिले विद्यार्थी र शिक्षक अभ्यस्त भइसकेका देखिन्छन् । कक्षा–८ की छात्रा निरुता राई विद्यालयले जातीय पोशाक लगाउने ब्यवस्था गरेपछि मात्रै आफ्नो मौलिक पोशाकबारे बुझ्ने, लगाउने तरिका सिक्ने अवसर मिलेको वताउँछिन् ।

विद्यार्थीहरु सुरुसुरुमा जातीय पोशाक लगाउन असहज भएपनि अहिले यसैमा बानी परेको वताउँछन् । विद्यालय पोशाकभन्दा जातीय पोशाक लगाउन समय लाग्ने र खर्चिलो भएपनि यसैमा विद्यार्थी खुशी देखिन्छन् । पोशाकबारे ब्यवहारिक जानकारी प्राप्त भएको विद्यार्थीहरुको अनुभूति छ ।

रानीटार माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर राईका अनुसार सेवा क्षेत्रमा रहेको विविधतालाई उजागर गर्दै आफ्नो मौलिक पहिचान र संस्कृतिबारे जानकार बनाउन यो अभियानको सुरुआत गरिएको हो । अन्य विद्यालयहरुमा राष्ट्रिय पोशाक लगाउने ब्यवस्थाबारे आफूहरुले सुनेपनि विविधता रहेका स्थानमा जातीय पोशाक लगाउने ब्यवस्था गरेर नयाँ सन्देश दिन खोजिएको प्रधानाध्यापक राईको भनाई छ ।

“सामाजिक विषयको पाठ्यक्रममै जात, धर्म, संस्कार, संस्कृति, बाजागाजा र पोशाकको पढाई गर्नुपर्ने हुन्छ । त्यसैको सिलसिलामा यी विषयहरुको ब्यवहारिक ज्ञान दिन यो ब्यवस्था गरेका हौँ”, प्रअ राईले भन्नुभयो, “कक्षा १ देखि १२ सम्म नै तस्वीर देखाएर यो फल्नो जातिको पोशाक भनेर देखाउनु, चिनाउनु, पढाउनु भन्दा यो गरेपछि हरेक कक्षाकोठा नै शैक्षिक सामग्री र मोडल बन्छ । त्यहीँ सिकाई हुन्छ ।”

अभियानले पोशाक लगाउने शीपको विकास हुनुका साथै औपचारिक शिक्षाको ब्यवहारिक ज्ञान हुने विद्यालयको ठम्याई छ । आफ्नो पोशाकबारे जानकारी पाउँदा नयाँ पुस्ताबाट संस्कृति र परम्पराको निरन्तरता हुने देखिएको प्रअ राईले वताउनुभयो ।

विद्यालयले अभियान सञ्चालनका लागि सबै अभिभावक, विद्यालय ब्यवस्थापन समिति र वडाका जनप्रतिनिधिहरुसँग छलफल गरेको थियो । जातीय पोशाक खरिद गरी लगाउने बानी बसाल्न विद्यालयले एक वर्ष अघि नै आव्हान गरेर यस वर्षबाट नियमित गरेको हो ।

यद्यपि कमजोर आर्थिक अवस्थाका कतिपय विद्यार्थीहरुले जातीय पोशाक खरिद गर्न सकेका छैनन् । “हरेक वर्ष चाडपर्वमा लुगा कपडा किन्दा आफ्नो जातीय पोशाक पनि खरिद गर्न सबै अभिभावकहरुलाई विद्यालयले आग्रह गर्दै आएको छ”, प्रअ राईले भन्नुभयो, “थोरै पैसा बचत गर्दा रानीटार जातीय पहिचान झल्काउने र पोशाकबारे ब्यवहारिक ज्ञान दिन सम्भव हुने देखियो ।”

जातीय पोशाक खरिद गर्द नसकेका १० जना विद्यार्थीलाई विद्यालयले खरिद गरिदिन लागेको छ भने अन्यलाई पोशाक खरिद गरिदिन वडा कार्यालयसँग माग गरेको छ । यस्तै नेपाल आदिवासी जनजाति महासंघको वडा समिति र जातीय संघ संगठनहरुलाई पनि पोशाक खरिदमा सहयोग गरिदिन आग्रह गरिएको प्रअ राईले वताउनुभयो ।

पोशाक लगाउने अभियानले थप सकारात्मक उपलब्धि पनि दिएको छ । यहाँका सबै समुदायका विद्यार्थीहरु अहिले आफ्नो जातीय नृत्य प्रस्तुत गर्न र गीत गाउन सक्ने भएका छन् । हालै यस विद्यालयमा आयोजित सम्मान कार्यक्रममा सबै जातिका विद्यार्थीले आ–आफ्नो जातीय नृत्य प्रस्तुत गरेका थिए । “गुरुङले रोदी, तामाङले सेलो, राईले साकेला, लिम्बूले च्याब्रुङ, ब्राम्हण क्षेत्रीले संगीनी नाच्न सक्ने, आवश्यक परेको खण्डमा यहाँका विद्यार्थीले बाहिर गएर प्रशिक्षण समेत दिन सक्दछन्”, सहायक प्रधानाध्यापक वीरेन्द्र अधिकारीले भन्नुभयो ।

विद्यालयले सञ्चालन गरेको अभियानलाई वडा कार्यालयले समेत सहयोग गर्ने भएको छ । वडाध्यक्ष रुपेन्द्र तामाङ जातीय पोशाक लगाउने अभियान ऐतिहासिक भएको वताउनुहुन्छ । “सुरुआतमा कठिन परेपनि अभियान ब्यवहारमा अवलम्बन भइसकेको छ । अभियानसँग विद्यार्थी र अभिभावकहरु सकारात्मक हुनुभएको छ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “अभियानले बाल मस्तिस्कमा भाषा, लिपि, संस्कृतिको जगेर्नाका लागि एकदमै सकारात्मक छाप परेको छ ।”

आगामी दिनमा भाषिक शिक्षाको समेत ब्यवस्था गर्न र जातीय पोशाक लगाउने अभियानलाई निरन्तरता दिई पूर्णता बनाउन वडाले सहयोग गर्ने उहाँले वताउनुभयो । यसअघि पाँचथरको फालेलुङ गाउँपालिका–६ मा अवस्थित दीपज्योति आधारभूत विद्यालयले राष्ट्रिय पोशाक लगाउने अभियान चलाएको थियो ।