Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
‘खरको छानो आगोले टिपेको पत्तै नहुने’ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

‘खरको छानो आगोले टिपेको पत्तै नहुने’

चिन्तन खबर

फिदिम । तेह्रथुमको आठराई गाउँपालिका वडा नं. ६ हात्तिखर्कका आशबहादुर घिसिङको उमेर ८० वर्ष पुग्यो । हातपाउ लाग्न छोडेका घिसिङका बावुबाजेको सारा जीवन पनि ठाउँ वितेको थियो । २००१ साल असार १५ मा जन्मनुभएका घिसिङले सुनेअनुसार उहाँका बावुबाजेको जीवन पनि यही ठाउँमा वितेको थियो । आफ्नो उत्पादनले खान नपुगेपनि हात्तिखर्कमै घिसिङका शाखा सन्तानले यहीं गुजारा गरिरहेका थिए ।

तर ८० वर्षको उमेरमा घिसिङ घरबारविहीन हुनु परेको छ । आगलागीले घिसिङको टोलका १४ घर एकैसाथ खरानी बनाएको छ । आखै अघि सारा गाउँ खरानी हुँदा घिसिङलाई सपनाजस्तै लागेको छ । “बाबु बाजेबाट न यस्तो विपत्ति सुनेको थिएँ, न यो जीवनले भोगकै थियो”, घिसिङ स्वयं आश्चार्यमा हुनुहुन्छ । तर लौरोको सहारामा जीवन कटाउनुपर्ने बेलामा उहाँसँग न घर नै रह्यो न सम्पत्ति ।

गत फागुन १२ गते नजिकैको खैरेनी निबुटार समुदायिक वनमा लागेको आगो हात्तिखर्कको वस्तीमा सल्कियो । हुन त हात्तिकर्खमा यत्रो जंगल थिएन । यहाँका कयौं स्थानीयवासी सहज जीवन यापनको अपेक्षामा बसाईं सरेर गएपछि वस्ती नै जंगलमा परिणत भएको थियो । घिसिङकै दुई जना भाइका परिवार पनि यहाँबाट बसाईं सरेर झापा गइसकेका छन् । सुक्खाले प्रभावित यस स्थानको जंगल वर्षा नहुँदा अत्यधिक सुक्खा बनेको थियो ।

तमोर नदीको तटबाट लागेको आगो यसरी मढारिएर आयो कि हरिया रुखहरु नै आधाआधि जले । आगो लागेपछि हुरीबतास उत्तिकै चल्यो । आगोको लप्का जंगल नजिकैका घरसम्म पुग्यो । ठूल्ठुला टारका वीचमा रहेका घरमा आगोले सल्किएका रुखका पातहरु पुगे । क्षणभर मै हात्तिखर्क उजाडियो । जंगलबाट ४०० मिटर टाढासम्मका घरमा आगो लाग्यो ।

घरबारविहीन भएपछि लौरो टेकेर राहत सामग्री बुझिरहनुभएका घिसिङका लागि यो घटना एक आश्चार्य लागिरहेको छ । “जिजुबाजेदेखि बसेको घरमै म बसिरहेको थिएँ । यस्तो अवस्था मैले कहिल्यै सोचेको थिइनँ”, उहाँले भन्नुभयो । यसपालि आगो लाग्नु स्वभाविक भएपनि आगलागीले यो हदको क्षति गर्ला भन्ने कसैको कल्पना समेत थिएन । “यो ठाउँनै औलो हो । पहिले निकै पानी पथ्र्यो । भदौदेखि पानीको छिटा देखेको छैन् । झिल्को बल्नासाथ सबै सल्कियो”, घिसिङले भन्नुभयो ।

पहिले यहाँको बस्ती बाक्लो थियो । अहिले आगलागी भई जलेका १४ मध्ये ५ घर खाली थिए । बयोवृद्ध घिसिङ गाउँका आधाजस्तो बसाईं सरेर गएको वताउनुहुन्छ । “तर, आफ्नै घर गएपछि सबै सकियो नि”, निराश र हतास हुँदै उहाँले भन्नुभयो ।

वयोवृद्ध घिसिङको मात्रै होइन्, घर जलेकी मायादेवी तामाङको दुःख झनै पीडादायी छ । मायाका श्रीमान मानसिक समस्याका कारण थलिएको लामो समय भयो । जंगलको आगोले ठूलो क्षति गर्ला कि भन्ने चिन्ताले मायाको मन पिरोलिरहेको थियो । क्षणभरमा घर नजिकै डाँडामा आगो आइपुग्यो । हेर्दाहेर्दै उहाँका दुई वटा घर जले ।

“सरसामान, लुगाफाटो केही निकाल्न पाइनँ । श्रीमानको उपचार गर्न पैसा ठिक्क पारेकी थिएँ”, आशुमिश्रित आवाजमा उहाँले भन्नुभयो, “छोरीको भर्खर विहे गरेका थियौं, विवाहको पैसा पनि घर मै थियो । त्यो केही बाँकी रहेन ।” मायाको घरमा रहेको रु. १ लाख ५० हजारभन्दा बढी नगद आगलागीमा जलेको छ । मानसिक समस्या भएका श्रीमानलाई दिइराख्ने औषधि र औषधि खरिद गर्ने रकम जलेपछि अब के गर्नेभन्ने मायादेवीसँग कुनै विकल्प छैन् ।

सोही स्थानकी जुनुमाया घिसिङले हल गोरु बाहेक घरको कुनै सामग्री निकाल्न पाउनु भएनँ । “दशै मिनेटमा घर जलेको । घर–घर छुट्टयाई छुट्टयाई जले”, घिसिङले भन्नुभयो, “हामी त बर्बादै भयौं नि ।”

गायक उदित नारायण झाको स्वरको गीतको एक हरफ निकै चर्चित छ –

दुःखीलाई कहिलेकाँही भुल्दा रैछन देउता पनि
भन्दथे जसले मलाई भाग्यमानि, दिएनन् साथ दुई पाइला पनि …. ।

हात्तिखर्कको उजाडिएको बस्तीका सबैलाई यो गीत शायदै उपयुक्त लाग्ला । हुन् पनि आफ्नो उत्पादनले आधा वर्ष खान नपुग्ने परिवारहरुको वासस्थान र श्रीसम्पत्ति क्षणभरमै उजाडिएको छ ।

तर हात्तिखर्क मात्रै होइन्, पूर्वी पहाडको तमोर तटीय क्षेत्रका सबै नागरिकको साझा समस्या आगलागी हो । वर्षा कम हुँदै जाँदा वर्षको कम्तिमा ६ महिना यस क्षेत्रमा पानी पर्न छाडेको छ । यस क्षेत्रमा हिउँदको समयमा वर्षा हुन छाडेको लामो समय भइसक्यो । जसकारण सुक्खा बनेको वन जंगलमा झिल्को बल्नासाथ सिङ्गो जंगल नै आगोको ज्वालामा परिणत हुने छ । यी स्थानमा न अग्नी रेखा निर्माण गरिएका छन् न पोखरी÷प्लाष्टिक पोखरी निर्माण गर्ने प्रयास नै ।

अर्कातर्फ जंगलछेउका वस्तीमा खर (फुस)को छानो लगाउने गरिएको छ । खरको छानो भएकै कारण यस क्षेत्रका १४ घर एकैसाथ जलेका हुन् । हात्तिखर्कमा जस्तापाता लगाएको घर जस्ताको तस्तै देख्न सकिन्छ भने खरको छानो भएका घर जलेका छन् ।

सुक्खा बनेको छानोमा एक झिल्को पर्नासाथ ह्वारह्वारी आगो दन्किएको आठराई गाउँपालिका–६ का वडाध्यक्ष कृष्ण बाँस्कोटाको भनाई छ । “५ वटा घर जलिसक्दा म त्यहाँ (हात्तिखर्क) पुगेको थिएँ । देख्दादेख्दै सबै घर जले”, बाँस्कोटाले भन्नुभयो, “हामीसँग आगो नियन्त्रण गर्ने कुनै उपाय थिएनँ ।” खरको छानो हटाउन नसक्दा ठूलो क्षति भएको उहाँको भनाई छ ।

जंगल छेउका वस्ती, खरको छानो र सुक्खाको संयोगले तमोर तटीय क्षेत्रमा हरेक वर्ष क्षति हुने गरेको छ । सोमवार मात्रै पाँचथरको कुम्मायक गाउँपालिका–१ साठीमुरे जंगलमा लागेको आगो यसरी नै बस्तीमा पस्दा स्थानीय वसन्तकुमार चाम्लिङ र छत्रबहादुर चाम्लिङको घर जलेर नष्ट भयो ।

यस्तै घटनाले वस्ती नै सखाप पारेको उदाहरण पाँचथरको कुम्मायक–५ स्याबरुम्बा र हिलिहाङ–७ पाखागाउँ पनि हुन् । केही वर्षअघि ती आगलागीमा यहाँका सिङ्गो वस्ती नै खरानी भएका थिए । हिलिहाङ–७ मा त जंगलमा लागेको आगोको लप्काले भेट्दा दुई जना स्थानीयवासीको ज्यान नै गएको थियो ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाँई जंगलमा आगलागी भएपछि छेउछाउका घर जोगाउन मुस्किल पर्ने वताउनुहुन्छ । “जंगलमा आगो लागे खवर गर्न अनुरोध गर्दै आएका छौं । खवर आउनसाथ गएर निभाउछौं पनि”, चापागाँईले भन्नुभयो, “कतिपय ठाउँमा भने आफैंलाई पनि जोखिम हुने अवस्था आउने रहेछ ।” सुक्खा ठाउँमा स्थानीयवासी नै सचेत हुनुको विकल्प नरहेको उहाँको भनाई छ ।

हात्तिखर्कको आगलागीको अवलोकन गर्नुभएका कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो सुक्खा क्षेत्रमा आगलागीबाट घरबार बचाउने सबैभन्दा उपयुक्त विकल्प नै खरको छानो हटाउनु आवश्यक रहेको वताउनुहुन्छ । “जस्तापातामा हत्तपत्त आगो नसल्किने रहेछ”, तुम्बापोले भन्नुभयो, “सकेसम्म जस्तापाता लगाउने प्रवन्ध गर्नु उपयुक्त देखिन्छ ।”

आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम (लिम्बू) पनि हात्तिखर्कजस्ता क्षेत्रलाई आगलागीबाट बचाउने उपयुक्त विकल्प फुसको छानोमुक्त घर नै रहेको वताउनुहुन्छ ।

यद्यपि कमजोर आर्थिक अवस्थाका कारण यस क्षेत्रका धेरै सर्वसाधारणले जस्तापाता लगाउन सकेका छैनन् । सरकारले विगतमा सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमले यस क्षेत्रका कतिपय घरमा जस्तापाता लगाइएपनि पूर्ण भने हुन सकेको छैन् । जसकारण जंगलमा लागेको आगोले निकै टाढाका घरगोठ जलाउने गरेको छ ।