पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समयमै काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने पूर्वाधार मन्त्रालयको तयारी

चिन्तन खबर

विराटनगर । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने चेतावनी दिएको छ ।

पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई तत्काल कामको प्रगति बढाउन चेतावनी दिएको हो । काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गा प्रसाद चापागाईंले पूँजीगत खर्च बढाउन र रोकिएका काम सम्पन्न गर्न भइरहेको कठिनाईको विषयमा जानकारी लिएका हुन् ।

सो क्रममा उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम तत्कालै गरिने तर निर्माण कम्पनीले पनि सोही अनुसारको काममा तीब्रता बढाउनु पर्ने बताए । “मन्त्रालयले तीन पटकसम्म म्याद थपेका निर्माण कम्पनीको पुनः म्याद थप्ने गरी मैले क्याबिनेटमा लैजान्नँ”, मन्त्री चापागाईंले निर्माण कम्पनीका प्रतिनिधिलाई सम्बोधन गर्दै भने “काम गर्ने जिम्मा तपाईंहरुको हो । निर्माण कम्पनीको समस्या हामीले पनि बुझेका छौं । तर, सम्झौता अनुसार काम गर्ने त फेरि पनि तपाईहरुकै हो । मन्त्री भएर क्याबिनेटमा ठेकेदारको निर्माण अवधि बढाउन भन्दै फाइल बोकेर म जान्न ।”

मन्त्रालयका सचिव मोहनराज चापागाईंले पनि विभिन्न बाहनामा काम रोक्न नहुनेमा जोड दिए । “कन्ट्रयाक डकुमेन्टमा साइट हेरेर मात्रै ठेक्का हाल्नु भनेर बकाइदा भनेको छ । तर, भौगोलिक कठिनता लगायत अन्य कतिपय विषय ल्याएर काम रोक्न पाइँदैन । साइट क्लियरेन्स र बिल पेमेन्टको कुरा हामीले सहयोग गर्छौं,” सचिव चापागाईंले भने, “मैले अघिल्लो आर्थिक वार्षमा १ सय भन्दा बढी आयोजनाको समयावधि थप गरे । अहिले भने केही फायल रोकिएको छ । म्याद थप्नुपर्ने कारण के हो ? जहिले पनि कोभिड ? पानी पर्यो भनेको छ । यो त जहिल्यै आउने कुरा हो नि ।”

सचिव चापागाईंले सार्वजनिक खरिद ऐनको ११ औं र १२ औं संशोधनले म्याद थपलाई सहयोग गरेको भएपनि अब म्याद थप्न समस्या हुने बताए । “हामी २०७९ सालको अन्तिममा छौं । अब दुईवटै संशोधनले छुँदैन । क्याबिनेटमा लगेर म्याद थप गर्ने कुरा राम्रो होइन । कतिपय ठेक्का कम्पनीले ५ औं पटकसम्म म्याद थप गरिएको छ । एक पटक दुई पटक पो हुन्छ त हौं साथी हो, कति पटक म्याद थप गर्ने ?,” उनले थपे, “अब पेनाल्टी पनि लाग्छ । म्याद थपको विषयलाई लिएर हाम्रो द्वन्द्व हुने अवस्था छ । दुईवटा म्याद थप गरिसकेपछि तेस्रोमा जानसक्ने अवस्था छैन । कानूनको विषयलाई हेरेरै तपाईहरुले ठेक्का लिनु भएको हो ।”