पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिदिममा सार्वजनिक शौचालय नहुँदा कष्ट भोग्दै यात्रु

चिन्तन खबर

फिदिम । सिङ्गो बजारमा एउटा पनि सार्वजनिक शौचालय छैन् भन्दा धेरैलाई विश्वास नलाग्ला । तर नयाँ शहरका रुपमा विकास भइरहेको पाँचथरको सदरमुकाममा अहिलेसम्म एउटा पनि सार्वजनिक शौचालय बन्न सकेको छैन् । नेपाल सरकारले भौतिक सुविधाको विस्तार गरी बसाईंसराईं रोक्ने उद्देश्य राखी विकास गरिरहेको फिदिममा अहिले पर्यटक, बटुवा र सवारीका यात्रु शौचालय खोजेर भौतारिने गर्छन् ।

सार्वजनिक शौचालय नभेटेपछि पसल र होटलमा पुगेर शौचालय प्रगो गर्न दिन उनीहरुले याचना गर्नुपर्छ । शौच गर्नकै लागि पर्यटक, बटुवा र सवारीहरु होटलमा चिया, नास्ता, चुरोट खाने बहाना बनाएर जानुपर्ने बाध्यता छ । यात्रु वुद्धिमान स्याङनात पनि त्यसरी दुःख पाउने मध्येका एक हुनुहुन्छ ।

जिल्लाको फाल्गुनन्द–६ का स्याङतान फिदिम बजारमा यत्तिका लामो समयसम्म किन सार्वजनिक शौचालय नबनेको होला भनेर अचम्ममा हुनुहुन्छ । “नयाँ मान्छेलाई त यहाँ गाह्रै हुन्छ । ग्राहक बनेर होटलमा जानुको विकल्प हुँदैन् । नौलो मान्छेलाई समस्या छ नि”, स्याङनातले भन्नुभयो, “ट्वाइलेट त अति आवश्यक देखिन्छ । तर नगरपालिका भएपनि अहिलेसम्म किन नबनाएको होला ? मैले बुझ्न सकेको छैन् ।”

फिदिमको गणतन्त्र चौकमा भेटिनुभएकी याङवरक–६ की इन्द्रकुमारी सुहाङको गुनासो पनि उस्तै छ । “यत्रो ठूलो बजारमा सार्वजनिक शौचालय त हुनु पर्ने हो । बाहिरबाट आउने र चिनजानका मानिस नहुने यात्रुले समस्या भोग्नु परेको छ”, सुहाङले गुनासो गर्दै भन्नुभयो ।
अटोरिक्सा चालक कुमार तामाङ शौचालय सोध्ने यात्रुलाई विकल्प दिन नसकिएको वताउनुहुन्छ ।

“बाहिरबाट आउने यात्रुहरु शौचालय कहाँ छ भन्छन् । हामीले कहाँ देखाइदिने ?”, तामाङले भन्नुभयो, “होटलतिर गएर चिया, चुरोट मागेर ट्वाइलेट खोजेर शौच गर्नुपर्ने अवस्था छ ।” शौचालय निर्माण गर्ने विषयलाई फिदिम नगरपालिकाले गम्भीरतापूर्वक नलिएको तामाङको गुनासो छ ।

आहालगैरीमा होटल चलाइरहेकी माया तामाङ सवारी रोकिने क्षेत्रमा सार्वजनिक शौचालय अत्यावाश्यक रहेको वताउनुहुन्छ । “सार्वजनिक शौचालय भइदिए यात्रुहरुले दुःख पाउने थिएनन् । अर्काको गाली खानुपर्ने थिएन”, तामाङले भन्नुभयो, “मेरो होटलमा आएर चिया, नास्ता मागेर शौचालय खोज्नुहुन्छ । नदिनु पनि भएन । दिँदा सफा गरिरहन गाह्रो पर्छ ।”

निजी प्रयोगका शौचालयहरु प्रयोग गर्दा धेरै यात्रुहरुले गाली खाएको आफूले सुन्नु परेको तामाङको अनुभव छ । “त्यसैले म चाहिँ कसैलाई गाली गर्दिनँ”, उहाँले भन्नुभयो ।

हिमाल यातायातको फिदिम काउण्टरका प्रमुख निशान साँवा बजार क्षेत्रमा पार्किङ गर्ने सहज ब्यवस्था तथा सार्वजनिक शौचालय नहुँदा यात्रुलाई समस्या हुने गरेको वताउनुहुन्छ । “बसपार्क टाढा हुँदा गाडी त्यहाँबाट सञ्चालन हुन सकेका छैनन् । यात्रुहरु बजारमै उत्रन चाहन्छन् । उनीहरुको काम पनि यतै हुन्छ । यहाँ न पार्किङ सहज छ, न त शौचालयको ब्यवस्था नै”, साँवाले भन्नुभयो, “पार्किङ सहज बनाई सोही स्थानहरुमा सार्वजनिक शौचालय बनाउनु जरुरी छ ।”

फिदिम आइपुग्ने नयाँ मानिसहरु, जेष्ठ नागरिक तथा बालबालिकाहरुले शौच गर्नै नपाउने अवस्था भएपछि आफूहरुले समस्या भोगेर पनि यात्रुलाई सुविधा दिने गरेको ब्यवसायीहरु बताउँछन् । आफ्नो होटलको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्दा मासिक २० हजारभन्दा बढी खर्च हुने गरेको ब्यवसायी पूर्ण सम्बाहाम्फेको भनाई छ ।

सम्बाहाम्फेको होटल भएको लिम्बुवान गेट बाहिरका यात्रु उत्रिएर बजार भित्रका काम गर्ने मुख्य ठाउँ हो । “मेरो होटलमा सबैतिरबाट आएका यात्रु ठोकिन्छन् । बालबालिका, बुढापाका अभर परेर आउँछन् । मैले दिन्न भन्नु भएनँ”, सम्बाहाम्फेले भन्नुभयो, “मेरो शौचालयको सेफ्टी ट्याङ्की सानो छ । मैले प्रत्येक महिनामा सेफ्टी ट्याङ्की सफा गराउनुपर्छ । यसो गर्दा मासिक २० खर्च भइरहेको छ, कसैले नगरपालिकामा बिल हेरे हुन्छ ।”

आफूले समस्या ब्यहोरेर पनि यात्रुलाई ‘धर्म’ गर्दै आएको सम्बाहाम्फेको प्रष्टिकरण छ । “मान्छेहरु अभर पर्छन् । ब्यवसाय गर्ने भएका नाताले पनि हामीले अभर परेका मानिसहरुलाई शौचालय प्रयोग गर्न दिनुपर्छ नै । यत्ति त हाम्रो धर्म हो” सम्बाहाम्फेले भन्नुभयो, “मैले केही कमाउन नसकौंला तर बुढापाकालाई दुःख नहोस् भन्ने सोचेर आफैंले समस्या भोग्दै आएको छु । मानिसहरु पसलतिर शौचालय खोज्दै जाँदैनन् । आउने होटलमै हो ।” आफूहरुले फिदिम नगरपालिकामा कुरा उठाएँ पनि सार्वजनिक शौचालय बनाउने जग्गा नहुँदा शौचालय निर्माण हुन नसकेको उहाँको भनाई छ ।

फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेका अनुसार वर्षेनि फिदिम बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने बजेटको ब्यवस्था गरिएपनि जग्गा नहुँदा शौचालय निर्माण हुन नसकेको हो । हुन त फिदिम नगरपालिकाले विगतका वर्षहरुबाटै फिदिमको आहालगैरी, गणतन्त्र चौक सहितका मुख्य बजारमा सार्वजनिक शौचालय निर्माण गर्न जग्गाको खोजी गरेको थियो ।

संरचना निर्माण गर्न जग्गा खरीद गर्न नमिल्ने भएकाले नगरपालिकाले जग्गाको प्रवन्ध गर्न सकेको छैन् । शौचालय निर्माणकै लागि मुख्य चौकहरुमा लाखौं मूल्य पर्ने जग्गा उपलब्ध गराउन स्थानीयवासी पनि तयार छैनन् ।

उसो त निर्माण भएकै सार्वजनिक शौचालय पनि प्रयोगविहीन छ । फिदिम–१ शनिवारे प्रत्येक शनिवार लाग्ने हटियालाई लक्षित गरीमा फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १० वर्षअघि निर्माण गरेको सार्वजनिक शौचालय संरक्षण र सरसफाई नहुँदा अहिले प्रयोगविहीन बनेको छ । सो क्षेत्रमा यात्रु तथा बटुवाले प्रयोग गर्न सक्ने भएपनि सरसफाईको अभावमा उक्त शौचालय प्रयोगविहीन बनेको हो ।

(तस्वीर सौजन्य : सन्स फोटोग्राफी)