फिदिम । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेंवा खोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेंवा खोलाले हेंवा खोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ ।
यस्तै फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुई तले घर र मतान बगाएको छ ।
बाढीले याङवरक गाउँपालिका वडा नं. २ फलैंचाका रामप्रसाद राईको एक तले घर, चन्द्र बेघाको दुई तले घर र एक तले मतान र कृष्ण बेघाको एक तले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेंवा खोलामा रहेका चार वटा सडक पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर कोरिडोर एक सडक पुल (बेलिब्रिज) बाढीले बगाएको छ । यस्तै फालेलुङ गाउँपालिका वडा नं. ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नं. ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत आयोजनाको एउटा स्काभेटर पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।
बाढीका कारण मेची राजमार्ग र तमोर कोरिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ ।
वर्षाका कारण सडक बगाएपछि फिदिम–यासोक सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा सडक अवरुद्ध भएको छ । यस्तै फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीले याङवरक गाउँपालिका–२ मा दुई वटा र फालेलुङ गाउँपालिका वडा नं. ३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रतिक्रिया