पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

चिन्तन खबर

काठमाडौं । पाँचथर र ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसद्हरुले पाँचथर र ताप्लेजुङमा बाढीपहिरोमा परी उद्धारको पर्खाईमा रहेका प्रभावितहरुको उद्धार गर्न, प्रभावित तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउन र पुनस्र्थापनाको ब्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

पाँचथरका प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङ, ताप्लेजुङका प्रतिनिधिसभा सदस्यत्रय योगेशकुमार भट्टराई, उर्मिला थेबे र लिलादेवी बोखिम, पाँचथरका प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङ लगायतले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

पाँचथरको याङवरक गाउँपालिका–१ फेदी गाउँका ३ परिवारका १३ जना पहिरोमा फसेका छन् । यस्तै ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका एक परिवारका ३ जना ओढारमा बसिरहेका छन् । उनीहरुलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गर्न सांसद्हरुले माग गरेका हुन् । जवाफमा प्रधानमन्त्री दाहालले उद्धारका लागि आज विहान नै हेलिकप्टर पठाउने वताउनुभएको छ ।

बाढीले जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि पाँचथरका प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङ्गले आइतबार जिल्लाका विभिन्न ठाउँको स्थलगत अनुगमन समेत गर्नु भएको थियो ।

प्रधानमन्त्री दाहालले ध्यानाकर्षणपत्र बुझ्दै प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताउनुभएको जनाएको छ ।

भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन, सडक र पुल भत्किएका ठाउँमा तत्काल बैकल्पिक कनेक्टिभिटी जोड्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।