Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
हेंवा खोलाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम बढ्यो « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

हेंवा खोलाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम बढ्यो

चिन्तन खबर

फिदिम । यस वर्षको बर्षायामको सुरुआतमै हेंवा खोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो । बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पुर्‍याएपछि जनजीवन असामान्य बनेको छ ।

४ वटा मोटरेवल पुल बगाएको हेंवा खोलाले तटीय क्षेत्रमा रहेको हजारौं रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा परिणत गरेको छ । तर त्यो भन्दा मुख्य कुरा हेंवा खोलाले ठाउँ–ठाउँमा बहाव बदलेको छ । यसले तटीय क्षेत्रमा जोखिम बढाएको छ । हिलिहाङ गाउँपालिकाको हेंवा खोलाको तटीय क्षेत्रमा कृषि उत्पादन र पशुपालन गर्दै आउनुभएका भवानी योक्पाङ्देन तटीय क्षेत्र जोखिमपूर्ण बनेको वताउनुहुन्छ ।

“बाढी आउनुअघि ठूलो बगर थियो । फिजारिएको खोलामा बाढी आइहाल्दा पनि डराउनुपर्ने अवस्था थिएन”, योक्पाङ्देनले भन्नुभयो, “अहिले बाढीले सबै बगर पुरेको छ भने खोला गहिरिएर गएको छ ।” गहिरिएको खोलाले सानो बाढी आउँदा पनि बगर छिचोल्ने डर तटीय क्षेत्रका बासिन्दाको छ ।

विगतमा रहेकोभन्दा बाढी आएपछि खोलाले बहाव यत्रतत्र बदलेको छ । जसकारण पानीको मात्रा बढ्नासाथ बहाव बदलिएर वस्तीसम्म पस्ने खतरा कायमै रहेको योक्पाङ्देनको चिन्ता छ ।

“बर्खा सुरु मात्रै हुँदैछ । अझै पानी पर्ने समय ३/४ महिना बाँकी छ”, योक्पाङ्देनले भन्नुभयो, “समग्रमा खोलाले तटीय क्षेत्रमा चिन्ता थपेको छ ।” प्रायजसो साउन र भदौमा अधिक वर्षा हुने हुँदा बाढीको जोखिम उत्तिकै रहेको र अब बाढीले कता क्षति पुर्‍याउला भन्ने अनुमान गर्न नसकिने अवस्था आएको उहाँको भनाई छ ।

हेंवा खोला र तमोर नदीको दोभान माझीटारमा खोलाले शताब्दीऔंदेखि बसोबास गरिरहेको वस्तीमा कटान थालेको छ । फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ माझीटारमा कहिल्यै खेती नटुटेको खेतबारीलाई यसपालिको बाढीले ढुङ्गामुढाको खण्डहरमा परिणत गरिदिएको छ ।

दोभान नजिकै हेंवा खोलामा ढुङ्गा थुपारेको छ । नदीको कटान परिवर्तन हुनु र ढुङ्गा थुपारिनुले माझीटारको मुख्य वस्ती जोखिममा परेको स्थानीयवासी प्रकाश माझीको भनाई छ । “अहिलेसम्म हामीले यस्तो जोखिम देखेका/भोगेका थिएनौं”, माझीले भन्नुभयो, “यसपालि घर छोडेर भाग्नुपर्ला कि जस्तो बनायो ।”

बाढीका कारण हेंवा खोलाका कुलबहादुर लावतीको खेतीयोग्य जमिन बालुवा, ढुङ्गा र मुढाले भरिएको छ । जे रोप्यो त्यही फल्ने खेत बालुवाले पुरेपछि के आम्दानीले जिविका चलाउनेभन्ने चिन्ता परेको लावती वताउनुहुन्छ ।

वंगुर, हाँस र कुखुराको पालन तथा सागशब्जी उत्पादन गरी फिदिममा विक्री गर्दै आउनुभएका भवानी योक्पाङ्देनको लगानी बालुवामा परिणत भएपछि उस्तै चिन्तामा हुनुहुन्छ । माझीटारको धेरै धान उत्पादन हुने खेत बगाएको छ भने खानीपानी र सिंचाइका स–साना योजनालाई कामै नलाग्ने बनाइदिएको छ ।

हेंवा खोलाले शताब्दीऔंदेखि अन्नपात उत्पादन गरिँदै आएका खेतबारीमा क्षति पुर्‍याएको छ । खण्डहर र बगर बनेका खेतबारीमा तत्कालै उत्पादन हुने सम्भावना छैन् । जसले हिँउद र बर्खामा दुई खेती गरी जिविका चलाउँदै आएका कृषकलाई मारमा पारेको छ । त्यससँगै बाढीको जोखिमले भविश्यबारे पनि स्थानीयवासीलाई चिन्तित पारेको छ ।

आफूहरु जोखिममा परेपनि सरकारी निकायले वेवास्ता गरेको हिलिहाङ–७ की सुमिना लिम्बूको भनाई छ । “घर बगाएका, मृत्यु र बेपत्ता भएका परिवारबारे सरकारले चासो राखेको छ । तर घरबार भएर पनि बस्न नसक्ने स्थितिमा पुगेका हामीलाई कसैले एक शब्द सोध्नुभएको छैन्”, लिम्बूले हिलिहाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवानीप्रसाद लिङदेनसमक्ष गुनासो पोख्नुभयो, “आज बल्ल तपाईं हाम्रो पीडा हेर्न आइदिनु भयो । अरुलाई त फोन गरेर आइदिनुहोस् न भन्दा पनि मान्नुभएन ।”

तमोर कोरिडोर र मेची राजमार्गमा पेशा ब्यवसाय चलेका तथा खेतीयोग्य जमिनमा प्रशस्तै उत्पादन भइरहेका क्षेत्रलाई एकै बाढीले धराशायी बनाएपछि स्थानीयवासी अत्तालिएका छन् । स्थानीय सरकारहरुले केही ढाडस दिएर जोखिममुक्त गर्दै उत्पादन र ब्यवसायलाई पुरानै लयमा फर्काउनु आवश्यक रहेको जिल्ला समन्वय समिति पाँचथरका निवर्तमान प्रमुख विष्णुप्रसाद सापकोटाको भनाई छ ।