फिदिम । नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीले असार पहिलो साता आएको बाढी पहिरोबाट प्रभावित भएका जिल्लाका १८८ घर परिवारलाई राहत वितरण गरेको छ ।
नेकपा (एमाले) पाँचथर जिल्ला कमिटी र नेकपा (एमाले) पाँचथर–काठमाडौं सम्पर्क मञ्चको अगुवाई सङ्कलन भएको राहत रकम बाढीपहिरो प्रभावित परिवारलाई वितरण गरिएको हो । एमाले पाँचथरले जिल्लाको याङवरक गाउँपालिकाका ५५ परिवार, हिलिहाङ गाउँपालिकाका ३२ परिवार, फालेलुङ गाउँपालिकाका ९३ परिवार र फिदिम नगरपालिकाका ८ परिवारलाई राहत रकम वितरण गरेको जिल्ला कमिटी अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिनुभयो ।
एमाले पाँचथरले बाढी पहिरामा परी निधन भएका तथा बेपत्ता भएका परिवारलाई प्रतिपरिवार १३ हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको छ । यस्तै पूर्ण क्षति भएका परिवारलाई ८ हजार रुपैयाँ, आंशिक क्षति भएका परिवारलाई ४ हजार रुपैयाँ र उच्च जोखिममा रहेका परिवारलाई ३ हजार रुपैयाँका दरले राहत रकम वितरण गरिएको हो ।
१८८ परिवारलाई हालसम्म ७ लाख ४२ हजार रुपैयाँ वितरण गरिएको नेकपा (एमाले) कोशी प्रदेश कमिटीका सदस्य एवं निवर्तमान प्रदेशसभा सदस्य आशारत्न जबेगूले जानकारी दिनुभयो । यस्तै बाढीमा बेपत्ता भएका हिलिहाङ–७ का आशिष माझी र एलिसा माझीकी छोरी प्रिन्सा माझीको हेरचाहका लागि ३ हजार रुपैयाँ र उनको बैङ्क खातामा ३० हजार रुपैयाँ जम्मा गरिएको जबेगूले जानकारी दिनुभयो ।
यस्तै प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङको ब्यक्तिगत सहयोगमा याङवरक गाउँपालिका वडा नं. १ र २ मा सञ्चालित हरिहृदुलय लघु जलविद्युत योजनाको टीओडी मिटर खरीद गरी जडान गरिएको छ । बाढीले क्षतिग्रस्त भएको योजनालाई विद्युतको केन्द्रीय प्रशारण लाइनमा जोड्न टीओडी मिटर जडान गरिएपछि याङवरक गाउँपालिका वडा नं. १ र २ का ४९० घर परिवारले पुनः विद्युत सेवा पाएको नेकपा (एमाले) पाँचथरका उपसचिव नरबहादुर गुरुङले जानकारी दिनुभयो ।
एमाले पाँचथरको टोली बाढी पहिरो प्रभावित चार वटै पालिकामा टोलस्तरमा पुगेर बाढीपहिरोको क्षतिको निरीक्षण गर्नुका साथै बाढीपहिरो प्रभावितको दीर्घकालीन ब्यवस्थापनबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाएको उपसचिव गुरुङले जानकारी दिनुभयो ।
राहत वितरण तथा बाढीपहिरो प्रभावित नागरिकसँगको भेटघाट कार्यक्रममा प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री एवम् नेकपा (एमाले)का केन्द्रीय सदस्य वसन्तकुमार नेम्बाङ, केन्द्रीय सदस्यद्वय अइन्द्रसुन्दर नेम्बाङ र श्रीप्रसाद जबेगू, पार्टी जिल्ला अध्यक्ष राजकुमार भण्डारी, प्रदेश सदस्य आशारत्न जबेगू, जिल्ला सचिव विष्णुप्रसाद सापकोटा सहितका नेताहरु सहभागिता रहेको थियो ।
प्रतिक्रिया