पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२९ दिनपछि मेची राजमार्ग सहज सुचारु

चिन्तन खबर

फिदिम । झापादेखि ताप्लेजुङसम्म कोशी प्रदेशका चार जिल्लालाई जोड्ने मेची राजमार्ग २९ दिनपछि सहज सुचारु भएको छ । पाँचथरको हेंवा खोलामा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएपछि मेची राजमार्गमा यातायातका साधन निर्वाध सञ्चालनमा आएका हुन् ।

असार २ गते राती आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने ४५ मिटर लामो सडक पुल बगाएको थियो । पुल बगाएपछि लामो समयसम्म उक्त खोलामा पानीको बहाव उच्च रहँदा वैकल्पिक माध्यमबाट समेत सवारीका साधन चल्न सकेका थिएनन् ।

केही दिन डाइभर्सनबाट समेत सवारीका साधनलाई खोला पार गराउने गरिएको भएपनि उक्त काम सहज हुन सकेको थिएन । सडक डिभिजन कार्यालय इलामले असार ३ गतेबाट यसअघि पुल रहेकै स्थानमा बेलिब्रिज निर्माण थालेको थियो ।

करीव २ करोड रुपैयाँको लगानीमा ४८ मिटर लम्बाईको बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलले जानकारी दिनुभयो । मोडुलार प्रविधिबाट बनाइएको उक्त बेलिब्रिजको भार बहन क्षमता २५ टन रहेको छ ।

बेलिब्रिज आइतवार साँझबाट सञ्चालनमा आएको थियो । बेलिब्रिजको सोमवार कोशी प्रदेशका मन्त्री कमलप्रसाद जबेगूले उद्घाटन गर्नुभएको छ ।

बेलिब्रिज सञ्चालनमा आएपछि लामो समयदेखि रोकेर राखिएका सयौंका संख्याका ढुवानीका साधन गन्तब्यतर्फ लागेका छन् । यसअघि निर्माण गरिएको डाइभर्सन बाढीका कारण रोकिने र सञ्चालन हुने निश्चित नहुँदा ताप्लेजुङतर्फ जाने सयौं ढुवानीका साधन हेंवा खोला आसपासमा रोकेर राखिएका थिए ।

बाढीले पुल बगाएपछि सुरुमा यहाँ बासको फड्के र तुइनको सहायताले खोला वारपार गर्ने ब्यवस्था गरिएको थियो । दुईतर्फ रहेका सवारीका साधनहरुले यात्रुहरुलाई गन्तब्यमा पु¥याइरहेका थिए । हेंवा खोलामा पानीको वहाब कम हुँदै गएपछि डाइभर्सन निर्माण थालिएको थियो ।

असार १२ गते पहिलो पटक डाइभर्सनबाट सवारीका साधनले खोला पार गरेका थिए । सोही रात बाढीले डाइभर्सन बगाएपछि भोलिपल्ट डाइभर्सन सुचारु गरिएको थियो ।

केही घण्टा चलेपछि सो डाइभर्सन पनि बाढीले बगाएको थियो । यही वीचमा फिदिम नगरपालिकाले अस्थायी झोलुङ्गे पुल सञ्चालनमा ल्याएपछि मोटरसाइकल तथा पैदल यात्रुलाई खोला पार गर्न सहज भएको थियो ।

यस्तै असार १८ गतेपछि पनि केही समय डाइभर्सन सञ्चालनमा आएको थियो । सो क्रममा धेरै ढुवानीका साधन पार गरेपछि जिल्लाका हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लामा खाद्यान्न अत्यावाश्यकीय लगायत सामग्रीको ढुवानी गरी स्थिति सहज बनाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाको भनाई छ । यस्तै असार २५ गते जलविद्युत आयोजनाको पेनस्टक पाइपको सहायताले डाइभर्सनलाई सहज बनाइएको थियो ।

अहिले निर्माण भएको बेलिब्रिजले खाद्यान्न, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस सहित अत्यावाश्यक सागम्री अभावको समस्या भोगिरहेका हेंवा खोला पारिपट्टीका नागरिकका आवश्यकता पूर्ति हुन थालेका छन् । यस वीचमा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकामा उत्पादित करोडौं मूल्यको गोलभेंडा लगायतका कृषि उपज भने बजारको अभावमा कुहिएर गएका छन् ।