फिदिम । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कको एक दूग्ध डेरी उद्योगमा शनिवार दिउँसो आगलागी हुँदा रु. ३० लाख मूल्य बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शनिवार दिउँसो ३ः३० बजे फिदिम नगरपालिका–३ लालीखर्कका टीका राईले सञ्चालन गरेको मीना दूग्ध डेरी उद्योगमा आगलागी हुँदा डेरी उद्योगमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए । आगलागीमा १० हजार किलो छुर्पी, घ्यू, दूध जाँच्ने मेसिन, डि–फ्रिज, डेरी मेसिन, तौल मेसिन, भाँडाकुँडा, करीब ४० लिटर क्रिम लगायत सामग्री जलेर नष्ट भएको हो ।
आगलागीमा अन्दाजी ३० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिनुभयो । काठ र जस्तापाताको बेरा रहेको डेरीका सबै संरचना आगलागीमा जलेका छन् ।
आगलागी स्थानीयवासीले दिउँसो ४ बजे नियन्त्रणमा लिएका थिए । आगलागीमा डेरीबाहेकका संरचनामा क्षति नभएको तथा आगलागीको कारण पत्ता लागिनसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रतिक्रिया