पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढी पहिरो प्रभावितलाई छ लाख रुपैयाँ राहत वितरण

चिन्तन खबर

फिदिम । गत असार पहिलो साता आएको बाढी र पहिरामा प्रभावित भएका परिवारलाई पाँचथरका दुई वटा संस्थाले रु. छ लाखभन्दा बढी रकम राहतस्वरुप वितरण गरेका छन् ।

लायन्स क्लब अफ फिदिम र राष्ट्रिय वन पैदावार ब्यवसायी संघ पाँचथरले सहयोगी दाताहरुबाट रकम सङ्कलन गरी रु. छ लाख एक हजार ७०० राहत रकम वितरण गरेका हुन् । यी संस्थाले सङ्कलन गरेको रकम बाढी र पहिरामा परी ज्यान गुमाएका तथा वेपत्ता भएका परिवार र घर पूर्ण रुपले क्षति भएका परिवारलाई वितरण गरेका हुन् । दुवै संस्थाले फिदिममा पत्रकार सम्मेलन गरी आयब्ययको बिवरण सार्वजनिक गरेका हुन् ।

लायन्स क्लब अफ फिदिमका अध्यक्ष हिमाल नेम्बाङका अनुसार याङवरक गाउँपालिकाका ८ परिवारलाई रु. एक लाख ५० हजार, फालेलुङ गाउँपालिकाका ६ परिवारलाई रु. १ लाख ४१ हजार, फिदिम नगरपालिकाका ४ परिवारलाई रु. १ लाख ७ हजार र हिलिहाङ गाउँपालिकाका ४ परिवारलाई रु. १ लाख ५९ हजार ५०० राहत वितरण गरिएको हो । मृतक तथा वेपत्ताका परिवारलाई रु. ३० हजारका दरले काजक्रिया खर्च तथा घर पूर्ण रुपले क्षति भएका परिवारलाई रु. १८ हजार ५०० का दरले राहत रकम वितरण गरिएको नेम्बाङले जानकारी दिनुभयो ।

यस्तै बाढीमा बावुआमा गुमाएकी हिलिहाङ–७ की प्रिन्सा माझीको पठनपाठनका लागि रु. ८१ हजारको अक्षयकोष स्थापना गरिएको छ । यसैगरी हिलिहाङ–७ माझीटारमा बाढीले खानेपानीको पाइपलाइन बगाएपछि खानेपानीको प्रवन्धका लागि रु. २७ हजार मूल्यको खानेपानी पाइप खरिद गरी वितरण गरिएको अध्यक्ष नेम्बाङले जानकारी दिनुभयो ।

बाढी पहिरा प्रभावितको सहयोगका लागि स्थापना गरिएको आपतकालीन राहत कोषमा २०० जनाभन्दा बढी सहयोगी दाताहरुबाट रु. ९ लाख ७१ हजार ७४८ रकम सङ्कलन भएको छ । सङ्कलित रकममध्ये रु. ६ लाख १ हजार ७०० रकम वितरण भएको र रु. ३ लाख ७० हजार ४८ हजार रकम मौज्दात रहेको राष्ट्रिय वन पैदावार ब्यवसायी संघ पाँचथरका अध्यक्ष मोहनसिं राईले जानकारी दिनुभयो । मौज्दात रकम भविश्यमा जिल्लामा दैवी विपत्तिमा प्रभावित हुने परिवारलाई सहयोग गरिने राईले जानकारी दिनुभयो ।

सहयोग रकम सङ्कलनकै क्रममा रु. ६ लाख रकम सङ्कलन भएपछि वितरण थालिएको तर दाताहरुले पछिसम्म रकम जम्मा गर्ने क्रम चलेकाले राहत रकम मौज्दात रहेको लायन्स क्लब अफ फिदिमका सचिव बेनु तिम्सिनाले जानकारी दिनुभयो । असार २ गतेपछि आएको बाढी र पहिरामा परी पाँचथरमा ३ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् । बाढी पहिराका कारण जिल्लाका ११९ घर विस्थापित भएका छन् ।

आयब्ययको विवरण सार्वजनिकीकरण कार्यक्रममा फिदिम नगरपालिका–१ का वडाध्यक्ष गजाधर भट्टराई, फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावती, लायन्स क्लब अफ फिदिम र वन पैदावार ब्यवसायी संघका वर्तमान र पूर्व पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति थियो ।