पाँचथर । स्थानीय निर्वाचन हुन आठ साता बाँकी छँदा ७ चैत २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टरबाट पाँचथरको तुुम्बेवा पुुगेर आङ्ना–मौवा तमोर लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्नुभयो ।
इन्द्राणी मावि परिसरमा बनाइएको धारोमा प्रधानमन्त्री देउवाले धारो खोल्दा पानी तरर झ¥यो पनि । पानी अभावले काकाकुल तुम्बेवावासीका लागि त्यो दिन निकै खुसीको दिन थियो ।
तर, तुम्बेवावासीलाई यो कांग्रेसबाट उम्मेदवार बनेका स्थानीय नेता बाबुराम खड्काको ‘चुनाव जित्ने रणनीतिक योजना’ भन्ने थाहा भएन । जतिबेला देउवाले खड्कालाई भोट दिन समेत तुम्बेवावासीलाई आग्रह समेत गर्नुभएको थियो ।
अन्ततः तुम्बेवावासीको मतले तमोर लिफ्टिङ आयोजना उद्घाटन गराएकै कारण खड्काले चुनाव जित्नुभयो । अहिले उहा गाउँपालिका अध्यक्ष छन् । तर, पानी चाहिँ धारामा आउँदैन । झन् केही दिन यता त लिफ्ट आयोजनाको इनार क्षेत्रबाट तमोर नदी नै बग्छ । स्थानीयवासीहरूका अनुसार धारोमा पानी होइन, कमिला कुद्छ ।
जबकि, खड्काले चुनाव जितेको डेढ वर्ष हुनै लागिसक्यो । विडम्बना, धाराहरू पानीविनाका छन् । अर्थात् धारो छ, पानी छैन । यति हुँदाहुँदै पनि आङना–मौवा वृहद् तमोर लिफ्ट आयोजना तथा सरसफाई समिति तुम्बेवा १, २ र ३ ले प्रत्येक उपभोक्ताको घरबाट बिना पानी २५० रुपैयाँ महसुल महिनावारी उठाउँदै आएको छ । उसै त बढी सुुख्खा हुने यस क्षेत्रमा अधिकांश मानिसहरूको कम आयस्रोत छ । त्यसैमाथि पानीबिना हरेक महिना उनीहरू न्यूनतम २५० रुपैयाँ तिर्न बाध्य छन् ।
खासमा, जनताको आधारभूत आवश्यकता भनिएको पानीमा भएको राजनीतिले तुम्बेवावासी मारमा छन् । आयोजना भने एक हजार ६१० घरपरिवारलाई खानेपानी उपलब्ध गराउन ४५ करोडको लागतमा सुरु गरिएको हो । यद्यपि, खड्काले आयोजनाको पानी उद्घाटन गराएर चुनाव जिते तर काकाकुल तुम्बेवावासी पानीले फिटिफिटी छन् । पानी विनै उनीहरू हरेक महिना २५० रुपैयाँ महसुल तिर्न बाँध्य छन् ।
प्रतिक्रिया