काठमाडौं । नवरात्रको आज नवौँ तथा अन्तिम दिन । आज विशेष गरी दुर्गाको नवौँ स्वरूप सिद्धि दात्री देवीको पूजा आराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड, पाँचौँ दिन स्कन्द माता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरीको पूजा आराधना गरिएको थियो ।
महाअष्टमीका दिन हातहतियार, औजार, कलकारखाना र सवारी साधनको पूजा नगरेकाहरूले आज बलीसहित विश्वकर्माको पूजा गर्ने गर्छन् । आजै नवदुर्गाको प्रतीकको रूपमा नौ जना कन्याहरूको पूजासमेत गरिन्छ । कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राको स्वरूपमा नौ कन्याको पूजा गरिन्छ ।
आज नेपाली सेना लगायत सुरक्षा निकायले कोतमा रहेको हातहतियारको र निशानको पूजाआजा गरी हर्षबढाइँ गर्ने परम्परा छ । नेवार समुदायमा महानवमीकै दिन भीमसेनको पूजा गरी बली दिने परम्परा छ ।
देवीको विसर्जन दशमीका दिन मात्र हुने भएकाले नवमीका साँझ पनि सधैँको जस्तो विधिले देवीको एवं स्थापित देवताहरूको पूजा गर्नुपर्छ ।
सिद्धगन्धर्वयक्षाद्यैः असुरैरमरैरपि ।
सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धिदायिनी ।।
सिद्ध, गन्धर्व, यक्ष, असुर, देवता आदिले सिद्धि प्राप्तिको लागि सिद्धि दात्रीको आराधना गर्ने गर्छन् । कमलको फूललाई आफ्नो आसन बनाएकी देवी सिद्धि दात्रीको हातमा कलमको फूल, शङ्ख, चक्र, गदा रहेको छ । अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व तथा वशित्व नाम गरेका अष्ट सिद्धिहरू यी नै देवीको कृपाबाट पाइने शास्त्रहरूमा उल्लेख गरिएको छ ।
महानवमीका दिन मात्र खुल्ने हनुमान ढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्नका लागि बिहानै भक्तजनहरूको घुइँचो छ । तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ ।
नौ दिनसम्म आह्वान गरेर घरघरमा पूजा गरेको नवदुर्गाको दशमीका दिन विसर्जन गरिन्छ ।
प्रतिक्रिया