पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोटेपिङ र भलिवलको परम्परा जोगाउँदै द्वितीया मेला

चिन्तन खबर

फिदिम । अढाई सय वर्षदेखि पाँचथरको वसांगुमा लाग्दै आएको द्वितीया मेलाले काठको रोटेपिङमा मनोरञ्जन र भलिवल प्रतियोगिताको परम्परालाई जोगाउँदै आएको छ ।
जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. ६ र ७ मा पर्ने वसांगु बजारमा दीपावलीका अवसरमा साताब्यापी रुपमा लाग्ने मेलाको प्रमुख आकर्षण यहाँ लगाइने रोटेपिङ हो । अन्यत्र रोटेपिङ लगाउने परम्परा लोप हुन लाग्दा यहाँ वर्षेनि काठको रोटेपिङ लगाउने परम्परा बसेको छ ।
करीव २५० वर्षअघि यस स्थानका अगुवाहरुले रोटेपिङ लगाउन थालेपछि स्थानीयवासीले यसलाई परम्पराका रुपमा लिँदै निरन्तरता दिँदै आएका छन् । स्थानीय स्तरमा उपलब्ध स्रोत साधनबाट रोटेपिङ लगाउने गरिएको छ ।
सुरुआतमा यो मेला यहाँको सक्राते डाँडामा लाग्ने गर्दथ्यो । सो स्थानमा झै–झगडा भइरहने भएपछि वसांगुमा सरेको पाइएको स्थानीयवासी एवम् फाल्गुनन्द गाउँपालिकाका निवर्तमान अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । सशस्त्र द्वन्द्वमा समेत नरोकिएको मेला कोभिड–१९ महामारीका दुई वर्ष स्थगन भएको थियो ।
यहाँका खड्गशेर आङ्देम्बे, जयकुमार कुरुम्बाङ, रुपमान कुरुम्बाङ, डिल्लीकुमार आङ्देम्बे, गंगाप्रसाद चेम्जोङ, देउप्रसाद आङ्देम्बे लगायतले मेलाकै अवसरमा भलिवल प्रतियोगिताको सुरुआत गराएको उहाँले जानकारी दिनुभयो । अहिले यहाँ त्रिवेणी युवा क्लबले प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ ।
स्थानीय किम्बदन्तीअनुसार वसांगुका शारसोरसिंह कुरुम्बाङको बिवाह भएको लामो समयसम्म सन्तान नजन्मिएपछि यासोकमा अवस्थित कुम्मायक र कुस्सायक धामको दर्शनका लागि गएका थिए । तर कुरुम्बाङले कुम्मायक र कुस्सायक धामको दर्शन गर्न नपाएपछि यी धामको शक्ति वसांगुमै स्थापना गरी मेला लगाउन सुरुआत गरेको इतिहास रहेको वसांगुमा भलिवल खेलको सुरुआत गर्नेमध्येका एक स्थानीय अगुवा देउप्रसाद आङ्देम्बेको भनाई छ । सो समयबाटै रोटेपिङ लगाउन परम्परा समेत बसेको र कुरुम्बाङले सन्तान प्राप्ति पनि गरेको स्थानीय बुढापाकाले वताउने गरेको आङ्देम्बे वताउनुहुन्छ ।
वि.सं. २०३७ सालबाट आफूहरुले भलिवल प्रतियोगिताको सुरुआत गरेको आङ्देम्बेले वताउनुभयो । प्रतियोगिताले भलिवल खेलको विकास र निरन्तरतामा ठूलो टेवा पु¥याउँदै आएको र मेलाको निरन्तरताका लागि स्थानीयवासी र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको स्थानीयवासीको विश्वास छ । वसांगुका बयोवृद्ध लालशेर कुरुम्बाङका अनुसार विगतबाटै मेलामा रोटेपिङ, धाननाच र ‘सिङ्हेले’ नामक खेल खेल्ने गरिन्थ्यो । मेलामा पूर्वी पहाडका विभिन्न स्थानका मानिसहरु रमाइलोका लागि आउने गर्दथे ।
मेलाका अवसरमा स्थानीय संस्कृति झल्काउने प्रतियोगिताहरु समेत आयोजना हुन थालेका छन् । मेला ब्यवस्थापन समितिका अध्यक्ष अमर आङ्देम्बेका अनुसार गत वर्षबाट साँस्कृतिक कार्यक्रम आयोजना गर्न थालिएको छ । यस्तै स्थानीय कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि च्याब्रुङ नाच प्रतियोगिता सञ्चालन गर्न थालिएको छ । मेलाका आकर्षणका रुपमा भलिवल, रोटेपिङ, च्याब्रुङ नाच, सिङ्हेले खेल रहने गरेका छन् ।
यस वर्ष मेला शनिवार सम्पन्न भएको छ । मेलाको मुख्य दिन भने भाइटीकाको दिन हो । यस दिन यहाँ हजारौंको सङ्ख्यामा मानिसहरु भेला हुने गर्दछन् । मेलाको निरन्तरताका लागि सार्वजनिक शौचालयको अभाव रहेको आङ्देम्बेको भनाई छ । वसांगु बजार ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार कुरुम्बाङ प¥याप्त बजेट नहुँदा बजार र मेलालाई अपेक्षित रुपमा ब्यवस्थित गर्न नसकिएको वताउनुहुन्छ । यद्यपि मेलाले परम्परागत संस्कृति संरक्षणमा ठूलो टेवा पुगेको स्थानीयवासी वताउँछन् ।
मेलाका अवसरमा यसवर्ष अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता आयोजना गरिएको थियो । शनिवार भएको फाइनल खेलमा कुम्मायक गाउँपालिकालाई पराजीत गर्दै फाल्गुनन्द गाउँपालिकाले उपाधि उचालेको छ । फाइनल खेलमा फाल्गुनन्दले सुरुआतका तीन वटै सेटमा सहज जीत हाँसिल गरेको थियो । फाल्गुनन्दले कुम्मायकलाई २५–१६, २५–२२ र २५–२१ अंकले पराजीत गर्दै उपाधि उचालेको हो ।
प्रतियोगिताको बिजेताले रु. १ लाख १५ हजार ५१५ रकमसहित ट्रफी र मेडल तथा उपबिजेताले ६५ हजार ५६५ रकमसहित ट्रफी र मेडल प्राप्त गरेका छन् । प्रतियोगितामा फाल्गुनन्दका दीपेश नेम्वाङ बेष्ट स्पाइकर, बसन्त आङदेम्बे बेस्ट लिब्रो र देबेन चेम्जोङ बेष्ट प्लेयर घोषित भए भने कुम्मायकका पुजन खत्री बेस्ट ब्लकर, कविन निरौला बेस्ट सेटर घोषित भए । विजेता तथा उपविजेतालाई फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे, निवर्तमान अध्यक्ष वीरबहादुर कुरुम्बाङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
यस्तै शुक्रबार आयोजना गरिएको च्याब्रुङ नाच प्रतियोगितामा सेक्कमुरीफुङ सङजुम्भो मिक्लाजुङ प्रथम र नामसामी केसामी केलाङ संस्था फाल्गुनन्द द्वितीय भएका छन् । च्याब्रुङ नाच प्रतियोगिताका बिजेताले रु. १७ हजार ५ सय रकम र उपबिजेताले १२ हजार ५०० रकम प्राप्त गरेको त्रिवेणी युवा क्लबका अध्यक्ष यमराज आङ्देम्बेले जानकारी दिनुभयो ।