फिदिम । धान रोप्ने क्रम घट्दै जाँदा यहाँका आकर्षक उब्जनी हुने खेतहरु बाँझिन थालेका छन् ।
पहाडका फाँटहरुमा यतिबेला धान काट्न, धान थन्क्याउन लगाउन कृषकहरुलाई भ्याइनभ्याई छ । असारदेखि भदौ पहिलो सातासम्म रोपिने धान कात्तिकदेखि मङ्सिर दोश्रो साताभित्र पाकिसक्ने हुनाले यहाँका कृषकहरु धान थन्क्याउने काममा ब्यस्त छन् । तर विगतमा जस्तो सिंचाइको सुविधा भएका सबै खेतमा धान फलाउने क्रम घट्दै गएको छ । आकर्षक उब्जनी हुने बेंशीहरुमा समेत धान खेती घट्दै गएको छ ।
यहाँका निबु खोला, खुङ खोला, हेंवा खोला, नाँवा खोला, सुभाङ खोला, इवा खोलाको सिंचाइ हुने फाँटहरुमा धेरै धान उत्पादन हुन गर्दछ । प्रशस्तै धान उत्पादन हुँदा कतिपय कृषकहरुले आफ्नै उत्पादनले वर्षदिन खान पु¥याउने गर्दथे । तर अहिले सो अवस्था क्रमशः घट्दै गएको छ । फिदिम नगरपालिका वडा नं. १०, ११ र १२ का वासिन्दाले खेती गर्ने खुङ खोला क्षेत्रका आकर्षक खात खेत क्रमशः बाँझिन थालेका छन् ।
फिदिम–१० का टेकबहादुर हाङसरुम्बाले भन्नुभयो, “पहिले धान रोपिने ठाउँ जङ्गल भइसक्यो । मसिनो धान फल्ने ठाउँ जङ्गलले छिर्न नसकिने भयो । यहाँ काहीँ पनि हरियो जङ्गल हुदैन थियो ।” हाङसरुम्बाका अनुसार जङ्गल बढ्दै जाँदा बाँदरले पिरले भएका खेतमा पनि स्थानीयवासीले खेती लगाउन सकेका छैनन् । गाउँमा युवा नहुँदा पशुपालन पनि घटेको छ । जसको प्रभाव पनि धान खेतीमा देखिएको छ । “अहिले गोरु पाल्ने निकै कम मात्रै छौं । अर्काको गोरु ल्याएर जोताउँदा धेरै खर्च हुने गर्छ”, हाङसरुम्बाले भन्नुभयो, “अहिले रोजगारी बढ्दै जाँदा खेतीमा काम लगाउने मान्छे भेटिँदैन । सिंचाइको पनि समस्या नै छ ।”
फिदिम–१० कै भुवन जबेगू हाङरुम्बाले दर्शाएका समस्यामा सहमत हुनुहुन्छ । “हाम्रो खुङ खोलाको फाँट जिल्लाको राम्रोमध्येको उत्पादनशील ठाउँ हो भनिन्छ । यहाँ निकै उब्जाउ जमिन छ । यहाँ तीन बालीसम्म खेती हुन्थ्यो”, जबेगूले भन्नुभयो, “तर अहिले पहिलेको तुलनामा धान उत्पादन घटेको छ । एसएलसी पास गरेपछि युवाहरुमा विदेश जानुपर्छ भन्ने मानसिकता बढेको छ । जसकारण खेत बेंसीमा काम गर्ने युवाको सङ्ख्या घटेको छ ।” अहिले फाट्टफुट्टबाहेक एक सिजन मात्रै खेती हुने गरेको र खेत क्रमश बाझिँदै गएको जबेगूको भनाई छ । परम्परागत खेतीपातीमा युवाहरुको आकर्षण पटक्कै नहुँदा धान खेती घट्दै गएको हो ।
हिलिहाङका वीरेन्द्र मंग्राती धान खेती घट्नुमा युवाहरुको विदेश पलायन, बसाँइसराइ, सिंचाइको अभाव र धान खेतीमा प्रविधिको उपयोग हुन नसक्नु मुख्य कारण रहेको वताउनुहुन्छ । “धान खेतीमा प्रविधिको उपयोग र राज्यको लगानी छैन् । हिउँदे धान खेतीमा त राज्यको लगानी शून्य छ”, उहाँले भन्नुभयो, “मानिसहरु क्रमशः प्रविधिमैत्री बन्दै जाँदा धान खेती परम्परागत रुपमै गर्नुपर्ने बाध्यता छ ।” सरकारले धान खेती बढाउन बसाइँसराइ रोकथाम, सिंचाइ र प्रविधिमा थप लगानी गर्नुपर्ने मंग्रातीको सुझाव छ ।
धान खेती घट्दै जाँदा खाद्य परनिर्भरता बढेको र यसले समाजलाई गरीब बनाउँदै लगेको छ । “अहिले गाउँ घरमा हुने सबै आम्दानी चामल खरीदमा खर्च हुन थालेको छ । विगतमा निकै कम घर परिवारले मात्रै चामल खरीद गर्नुहुन्थ्यो”, मंग्रातीले भन्नुभयो । अर्कातिर मकै कोदो लगायत खाद्य बालीको उत्पादन र प्रयोग पनि घटेको छ । “खाद्यान्नमा कोदो, मकैको प्रयोग हुन्थ्यो । अहिले त्यसको सट्टामा पनि चामल प्रयोग गर्नाले चामलको खपत अत्यधिक बढेको छ । यसले समाजलाई गरीब बनाउँदै लगेको छ”, मंग्रातीले भन्नुभयो ।
कृषि ज्ञान केन्द्र पाँचथरको तथ्याङ्कले पनि जिल्लामा धान खेती घट्दै गएको देखाउँछ । गत वर्ष जिल्लामा ८ हजार ९ सय २६ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । यस वर्ष धान खेती हुने क्षेत्र गत वर्षभन्दा २ सय ७६ हेक्टर कम भएको सो कार्यालयको तथ्याङ्क छ । ग्रामीण अर्थतन्त्रलाई सवल बनाउने बलियो माध्यम धान खेती भएपनि यस विषयमा स्थानीय सरकारले स्पष्ट नीति र कार्यक्रम तय गर्न समेत सकेका छैनन् ।
प्रतिक्रिया