पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिदिममा किराँत गोल्डकप सुरु

चिन्तन खबर

फिदिम । नवस्थापित पाँचथर फुटबल क्लबको आयोजनामा पाँचथरको सदरमुकाम फिदिममा किराँत गोल्डकप फुटबल प्रतियोगिता शनिवारबाट सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मन्त्री शमसेर राईले गर्नुभयो । फिदिम बजारमा रहेको फिदिम माध्यमिक विद्यालयको निर्माणाधीन खेलमैदानमा सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका ६ वटा, काठमाडौंको एक र भारतको एक फुटवल क्लब प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा आयोजक पाँचथर फुटबल क्लब, मितेरी फुटबल क्लब तेह्रथुम, डिएफसी मोरङ, रेडहर्स फुटबल क्लब इलाम, बिर्तामोड युनाइटेड क्लब झापा, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, हिमालयन शेर्पा क्लब काठमाडौं र युनाइटेड फुटबल क्लब दार्जिलिङ भारत सहभागी छन् ।

प्रतियोगिताको बिजेताले रु. चार लाख चार हजार ४४४ रकम सहित ट्रफी र मेडल तथा उपबिजेताले रु. दुई लाख दुई हजार २२२ रकम प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई रु. पाँच हजार रकम र मेडल तथा प्रतियोगिताका विधागत रुपमा उत्कृष्ट खेलाडीले पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिनुभयो । वाइवाइ चाउचाउले प्रायोजन गरेको प्रतियोगिता जिल्लामा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

शनिवार भएको उद्घाटन खेलमा आयोजक पाँचथर फुटवल क्लब विजयी भएको छ । मितेरी फुटवल क्लब तेह्रथुमलाई २–० गोलअन्तरले पराजीत गर्दै आयोजकले विजयी सुरुआत गरेको हो । अधिकांश स्थानीय खेलाडी रहेको आयोजक टोलीले राम्रो लयमा रहेको तेह्रथुमलाई पराजीत गर्दा आयोजकका शुकराज राई र विशाल भण्डारीले एक/एक गोल गरे । ४३औं मिनेटमा कर्नरबाट भएको प्रहार राईले गोलमा परिणत गरे । यस्तै ६०औं मिनेटमा भण्डारीले पाएको फ्रिकिकको अवसरलाई गोलमा परिणत गर्न सफल भए । खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) आयोजकका फरवार्ड विशाल भण्डारी घोषित भए ।

निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम समय भने विवादित र तनाबग्रस्त बनेको थियो । दुई मिनेटको अतिरिक्त समयमा मुख्य रेफ्री राजु थापाले मितेरी फुटबल क्लबका पेपे र ग्लोरीलाई रातो कार्ड देखाएका थिए । अमर्यादित ब्यवहार गरेको भनेर रेफ्रीले रातो कार्ड दिएपछि मितेरीले बाँकी समय खेल नै खेलेन । अतिरिक्त समयमा भएको विवाद सुरक्षाकर्मीको सहायताले समाधान भएको थियो । प्रतियोगिताअन्तर्गत भोलि रेडहर्स फुटबल क्लब इलाम र विर्तामोड युनाइटेड क्लब झापावीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।