फिदिम । पाँचथरमा रहेको समथिङ फाउण्डेसन नेपालले चार जना श्रष्टाहरुलाई सम्मान गरेको छ ।
फाउण्डेसनले सोमवार फिदिममा कार्यक्रम आयोजना गरी समथिङ राष्ट्रिय पुरस्कार २०७८ बाट काभ्रेका साहित्यकार मोहन दुवाल र समथिङ राष्ट्रिय पुरस्कार २०७८ बाट दिग्गज साहित्यकार डा. गोविन्दराज भट्टराईलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशी रु. ५५ हजार ५५५ रहेको समथिङ फाउण्डेसनका अध्यक्ष मंगल बेघाले जानकारी दिनुभयो ।
फाउण्डेसनले समथिङ राष्ट्रिय सम्मान २०७८ र समथिङ राष्ट्रिय सम्मान २०८० बाट क्रमशः पाँचथरे नारी श्रष्टाद्वय मीना राई र शान्ता गौतमलाई सम्मान गरेको छ । सम्मानपत्रका साथ रु. पाँच हजार ५५५ राशी पुरस्कार समेत रहेको अध्यक्ष बेघाले जानकारी दिनुभयो । पुरस्कृत श्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
दिवङ्गत खोजकर्ता, लेखक तथा साहित्यकार गुरुङ रामप्रकाश समथिङले आफू संरक्षक भई स्थापना गरेको उक्त फाउण्डेसनले प्रत्येक दुई वर्षका पुरस्कार र सम्मान प्रदान गर्न थालेको हो । २०७८ सालमा प्रदान गर्नुपर्ने सम्मान कोभिड–१९ को महामारीका कारण सम्पन्न हुन नसकेकाले अहिले वितरण गरिएको फाउण्डेसनले जनाएको छ ।
उक्त कार्यक्रममा श्रष्टा एवम् नेपाली काँग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले पुरस्कारका संस्थापक दिवङ्गत गुरुङ रामप्रकाश समथिङको कृतित्व र ब्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो । यस्तै नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष लेखक गिरिराज बाँस्कोटाले समथिङ राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएका दुवाल र भट्टराईको ब्यक्तित्वको चर्चा गर्नुभएको थियो ।
यसैगरी नौलो साहित्यिक विहान समाजका अध्यक्ष खड्ग बोहोराले समथिङ राष्ट्रिय सम्मान प्राप्त गर्नुभएका राई र गौतमको ब्यक्तित्वको चर्चा गर्नुभएको थियो ।
पाँचथरमा रहेका खोज अनुसन्धान, साहित्य तथा तथ्याङ्कीय क्षेत्रका ५७ वटा कृति प्रकाशन गर्नुभएका साहित्यकार गुरुङ रामप्रकाश समथिङको २०७९ भदौ ३० गते उपचारका क्रममा झापामा निधन भएको थियो । २०२६ साल माघ २६ गते जन्मनुभएका समथिङको वास्तविक नाम रामबहादुर गुरुङ थियो ।
उहाँको ५५औं जन्मजयन्तीको अवसर पारेर फाउण्डेसनले श्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको हो । उहाँले आफू जिवित छँदै फाउण्डेसनको स्थापना गर्नुभएको थियो । मानवअधिकार, सहकारी, साहित्य, पत्रकारिता, खोज अनुसन्धान लगायत क्षेत्रमा निरन्तर क्रियाशील समथिङको स्मृतिमा जिल्लामा विभिन्न कार्यक्रम हुने गरेका छन् ।
प्रतिक्रिया