फिदिम । फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पसले आयोजना गरेको श्रीभद्भागवत ज्ञान महायज्ञ तथा वहुधार्मिक आध्यात्मिक महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु हुने भएको छ ।
क्याम्पसले आफ्नो प्राङ्गणमा आयोजना गरेको उक्त महायज्ञको आज दिउँसो राष्ट्रपति पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो । आज दिउँसो १ बजे फिदिम आइपुग्ने राष्ट्रपति पौडेल करीव एक घण्टा ३० मिनेट यहाँ रहेर काठमाण्डौं फर्कने कार्यक्रम रहेको बाँस्कोटाले जानकारी दिनुभयो । राष्ट्रपति आउने भएपछि सुरक्षा निकायले दुई दिन अघिबाटै तयारी थालेका छन् ।
क्याम्पस सञ्चालनका लागि दीगो स्रोतका रुपमा अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ क्याम्पसले आजबाट सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागेको हो । महायज्ञमा भागवत कथा वाचक दीनबन्धु पोखरेल, वौद्ध गुरु खेन्पो फुर्तेम्बा शेर्पा र मुन्धुमका प्रवचनकर्ता डा. चन्द्रकुमार शेर्माले प्रवचन दिने कार्यक्रम रहेको सहायक क्याम्पस प्रमुख लक्ष्मीप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
महायज्ञको सम्पूर्ण तयारी पूरा गरी सरस्वती पूजाको अवसर पारेर आज विहान कलशयात्रा निकालिएको छ । महायज्ञका लागि क्याम्पस परिसर सिङ्गारिएको छ । हालसम्म करीव १५ हजार विद्यार्थीले अध्ययन गरेको क्याम्पसले अक्षयकोषका लागि रु. ५ करोड रकम सङ्कलन गर्ने लक्ष्यका साथ महायज्ञ आयोजना गरेको क्याम्पस प्रमुख खेमनाथ खतिवडाले जानकारी दिनुभयो ।
प्रतिक्रिया