पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेवाग्राहीलाई ‘जडिबुटी’ चिया

चिन्तन खबर

फिदिम । ग्याष्ट्रिकको समस्या विभिन्न अस्पतालमा उपचार गराउँदा समेत निको नभएपछि फिदिम नगरपालिका–२ की रञ्जना मिश्र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, अस्पताल फिदिम पुग्नुभएको थियो । टिकट काटेर चेकजाँच गराउन पुग्दा उहाँलाई अस्पतालका कर्मचारीले चिया दिए ।

उपचार गर्न जाँदा चियाले स्वागत गरिएपछि मिश्र चकित पर्नुभयो । चेकजाँचका लागि बस्नुभएका अस्पतालका प्रमुख टेकनाथ अर्यालले सेवाग्राहीलाई चियाले स्वागत गर्ने कार्यालयको ब्यवस्था रहेको वताएपछि मिश्रले आफ्ना समस्या वताउनु थाल्नुभयो ।

जिल्ला आयुर्वेद अस्पतालबाट नियमित सेवा लिइरहनुभएका फाल्गुनन्द गाउँपालिका–३ का रघुवीर नेम्बाङ पनि नियमित जसरी नै यहाँ पुग्नुभएको थियो । तर चेकजाँच अगावै चिया लिन अस्पतालका कर्मचारीले आग्रह गरेपछि कस्तो चिया हो ? भनेर उहाँ बुझ्न लाग्नुभयो । दूध चिया नियमित पिउनाले ग्याष्ट्रिकको समस्या हुने बुझेर रातो चियामात्रै पिउने नेम्बाङले नयाँ खालको चिया पाएपछि यसकाे खरीदबारे कर्मचारीलाई सोध्न थाल्नुभयो ।

जिल्ला आयुर्वेद अस्पताल फिदिममा सेवा लिन पुग्ने जो कोहीलाई अहिले अस्पतालले जडिबुटी चिया दिने गरेको छ । तुलसी, अलैंची, गुल्ची, तेजपत्ता, जेठीमधु लगायत जडिबुटीको सम्मिश्रणबाट बनेको उक्त चियालाई अमृत चिया समेत भनिन्छ । यही चिया दिएर अस्पतालले जडिबुटी, आयुर्वेद र स्वस्थ जीवनको महत्व बुझाउने प्रयास गर्ने गरेकाे छ। 

“केही हप्तादेखि अभियानका रुपमा चिया दिने कार्यक्रम थालेका छौं”, अस्पताल प्रमुख कविराज निरीक्षक टेकनाथ अर्यालले भन्नुभयो, “सेवाग्राहीले यो चियाका बारेमा सोध्ने गर्नुहुन्छ । आहारबिहारमा सुधार गर्नुपर्ने रहेछ भन्ने अनुभूति गराउन यो चिया दिने गरेका हौं ।” चियाले उक्त अभियानमा मद्दत पनि गरेकाे अर्याल वताउनुहुन्छ।

चिया पिएपछि विरामीहरुले आफूलाई फरक अनुभूति भएको, केही सहज भएको जस्ता प्रतिक्रिया दिने गरेको अर्यालको भनाई छ । सेवाग्राहीहरु पनि जडिबुटी चियाको स्वाद फरक भएकामा अचम्मित देखिन्छन् । “यो चियाको स्वाद अनौठो लाग्यो । चिया खाएपछि अलि फरक अनुभूति भयो”, सेवाग्राही मिश्रले भन्नुभयो ।

अस्पतालमा दैनिक औषत २० जना सेवाग्राही आउने गरेका छन् । सबै सेवाग्राहीहरुलाई जडिबुटी चियाको माध्यमबाट स्वस्थ जीवन शैली अपनाउन स्वास्थ्यकर्मीले प्रेरित गरिरहेका छन् । सेवाग्राहीहरुलाई स्वस्थ जीवन, योग तथा प्राणायम र आहारबिहार सम्बन्धी परामर्श दिने गरिएको अस्पतालका प्रमुख अर्यालले जानकारी दिनुभयो ।

यस अतिरिक्त विरामीकाे अवस्था हेरेर चेकजाँचपश्चात पञ्चकर्मअन्तर्गत थेरापी, सर्वाङ्ग स्वेदन, एकाङ्ग स्वेदन, गृहवस्ती, कटीवस्ती, जानुवस्ती जस्ता पद्धतिबाट उपचार गर्ने गरिएको अस्पतालले जनाएको छ । यस्तै आँखा, पिनास र माइग्रेनका विरामीलाई नस्य कर्म पद्धतिबाट उपचार गर्ने गरिएको छ ।

उक्त अस्पतालमा ग्याष्ट्रिक, नशासम्बन्धी, उच्च रक्तचाप, मधुमेह, पिनास, पायल्स लगायतका विरामी बढी आउने गरेका छन् । अस्पतालले २३ प्रकारका अत्यावाश्यकीय आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्ने गरेको छ भने ६ महिनासम्मका सुत्केरी आमाहरुका लागि ३ प्रकारका दूग्धवर्द्धक औषधि निःशुल्क वितरण गर्ने गरिएको अस्पताल प्रमुख अर्यालले जानकारी दिनुभयो । यसैगरी जेष्ठ नागरिकहरुका लागि २ प्रकारका औषधि अस्पतालले निःशुल्क वितरण गर्ने गरेको छ ।

अस्पतालले स्तनपायी महिलाहरुलाई औषधि वितरण तथा स्वस्थ जीवन शैली अपनाउन खोप केन्द्रसम्म पुगेर कार्यक्रम सञ्चालन गर्ने गरेको छ भने जेष्ठ नागरिक लक्षित अभिमुखिकरण समेत गर्ने गरिएको अर्यालले जानकारी दिनुभयो । अस्पतालले आगामी दिनमा शिविरमार्फत स्वस्थ जीवन शैलीसम्बन्धी अभिमुखिकरण सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।