काठमाडौं । राष्ट्रियता, प्रजातन्त्र सुदृढ तुल्याउन र जनताकेन्द्रीत सुशासन कायम गर्न देशमा प्रमुख शक्तिहरुबीच नवीन समझदारी आवश्यक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले बताउनुभएको छ ।
‘देशको राजनीतिलाई सही मार्गमा ल्याउन, राष्ट्रियता, प्रजातन्त्र तथा जनताको हित अनुकूल शासन संचालन गर्न प्रमुख शक्तिहरुबीच नवीन समझदारी आवश्यक भएको छ । हर क्षेत्रको अवस्था हेर्दा देश चुनौति र असफलताको जंजालमा फसेको छ, त्यसैको देश र जनताको हित अनुकूल परिवर्तन अपरिहार्य भएको हो,’ राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख राणाले मंगलबार एक कार्यक्रममा भन्नुभयो ।
विगत आन्दोलनको अनुभवका आधारमा यस पटक राप्रपा पूर्ण तयारीका साथ सडकमा उत्रने राणाले प्रष्ट पार्नुभयो ।
महामन्त्री तथा आन्दोलन परिचालन समितिका सदस्य सचिव कुन्ती शाहीले युव र महिलालाई अग्रपंक्तिमा राखेर आन्दोलनमार्फत देशले मागेको परिवर्तन प्राप्त गर्ने बताउनुभयो। वडा तहसम्म गएर जुझारु युवा तरुणको अगुवाईमा युवा दस्ता निर्माण गर्न उनले कार्यकर्तालाई आह्वान गर्नुभयो ।
देश परिवर्तन सन्मुखः प्रवक्ता लावती
प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले देश परिवर्तन सन्मुख रहेको धारणा राख्नुभएको छ ।
‘युवा पलायन रोक्न, भ्रष्टाचार अन्त्य गरेर सही अर्थमा राम राज्य कायम गर्न राप्रपाले परिवर्तनको मार्गचित्र अघि सारेको हो । जनताको बलमा परिवर्तन प्राप्त गरेर जनचाहना बमोजिम राजसंस्था, हिन्दु अधिराज्य पूनःस्थापना गर्ने आन्दोलनको लक्ष्य हो,’ लावतीले भन्नुभयो ।
राप्रपाको संगठन विभागले आन्दोलनलाई केन्द्रमा राखेर काठमाडौं उपत्यकाकेन्द्रीत संगठन विस्तार कार्ययोजना जारी राखेको छ ।
प्रतिक्रिया