फिदिम, २९ साउन । स्वर्गीय मनु दुलाल स्मृति अक्षय कोषबाट जिल्लाका तीन जनालाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
स्वर्गीय मनु दुलालका श्रीमान नन्दकिशोर प्रसाईं (नरेश)ले जनसेवा समाज पाँचथरमार्फत हिमालयन बैङ्कमा स्थापना गरेको उक्त अक्षय कोषको ब्याजबाट द्वन्द्वपीडित र विद्यार्थीहरुलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
अक्षय कोषको ब्याजबाट द्वन्द्वपीडित फालेलुङ गाउँपालिका–५ का हर्कमान सिन्चेउरीलाई रु. छ हजार ५००, स्वर्गीय दुलालले अध्ययन गरेको सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थी नुमा नेम्बाङलाई रु. पाँच हजार ५०० र बावुआमाको सहाराविहीन फिदिम–२ की बालिका सपना सार्कीलाई रु. चार हजार १०० रकम वितरण गरिएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
मङ्गलबार जनसेवा समाज पाँचथरको कार्यालयमा आयोजित कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।कार्यक्रममा स्वर्गीय मनु दुलाल तथा उहाँको परिवारबारे चर्चा गरिएको थियो ।
स्वर्गीय मनुका बुवा कुवेरनाथ दुलाल सहित परिवारका पाँच जनाको २०५० सालमा सामूहिक हत्या भएको थियो भने मनु र उहाँका दिदी मावलीमा रहेकाले बाँच्न सफल हुनुभएको थियो ।
दुलालको २०७३ सालमा अमेरिकामा निधन भएपछि उहाँका श्रीमान नरेश प्रसाईंले रु. दुई लाख मूल पुँजी रहेको अक्षय कोष जनसेवा समाज पाँचथरमार्फत स्थापना गर्नुभएको थियो । अक्षय कोष स्थापनापश्चात वर्षेनि विभिन्न क्षेत्रका समस्या परेका ब्यक्तिहरुलाई सहयोग प्रदान गरिँदै आएको जनसेवा समाज पाँचथरका अध्यक्ष अधिकारीले वताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीसहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया