पाँचथर । भनिन्छ अरुको जीवन अनुभवबाट पाठ सिक्नु पर्छ । आफ्नै जीवन अनुभवबाट सिकेको पाठको मूल्य महंगो पर्छ । धनकुमार फियाकलाई भने अरुको जीवन अनुभवबाट पाठ सिक्ने सौभाग्य नै मिलेन । उहाँले सिक्नुभएको पाठ सस्तो वा महंगो के भयो हिसाब किताब गरेको छैन तर उहाँ जति पाठ सिके ती सबै पाठ आफ्नै जीवनको कठोर घुम्तिहरुमा सिके, नियतीले सिकायो ।
फियाक २०४९ साल र २०५४ सालमा दुई पटक गाविस अध्यक्ष, नेकपा (एमाले)को पटक पटक गाविस नेतृत्व हुदै इलाका, जिल्ला सदस्य, जिल्ला उपसचिव, सचिव, उपाध्यक्ष हुदै अहिले कोशी प्रदेश सदस्य र नेकपा (एमाले)को प्रतिनिधि परिषद सदस्य समेत हहुनुहुँन्छ । छोराहरु कोहि विदेश छन् कोहि राजधानिमा तर फियाक अहिले पनि आफ्नो निजी निवास आरुबोटे–जिल्ला सदरमुकाम फिदिम ओहोरदोहोर गरिरहनुहुन्छ । उहाँ जनताको काममा नै दौडिनुहुन्छ । सांगठानिक रुपमा नेकपा (एमाले) आधारभूत तहमा बलियो छन् । त्यसका पिलर फियाकहरु नै हुन ।
पाँचथर मिक्लाजुङ गाउँपालिका ३ (साबिक आरुबोटे गाविस २ डाडाँगाउमा २०१४ माघ १० गते आमा लक्ष्मीमाया चेम्जोङ र बुबा हरिप्रसाद फियाकको कोखमा फियाकको जन्म भएको हो । ६ जना दिदीबहिनी र दुई दाजूभाई रहेको परिवारमा हुर्किएका फियाकले गाउँकै आरुबोटे मिडिलस्कुलबाट ८ कक्षा उतिर्ण भएपछि राजनीतिमा लाग्नुभएको हो ।
भर्खरै भूमि समस्या समाधान आयोग पाँचथरका अध्यक्ष नियुक्त भएका फियाकको राजनीतिक यात्राको टर्निङ पोइन्ट निक्कै रोमाञ्चक र अनुकरणीय छ । कुरा २०२५ सालतिरको हो । उहाँ टुहुरो भइसक्नुभएको थियो । गाउँमा एकजना आफ्न्तप्रधानपञ्च थिए । ती प्रधानपञ्चले रु २५ सय दामकाम गरेर जग्गा नामसारी गरि लगे । दामकाम गरे तर एक पैशा दिएनन् । उल्टो ५ तोला सुन लगे त्यो पनि पचाए । अनेक उपाय गर्दा पनि न सुन फिर्ता आयो न जग्गाको पैशा ।
विस्तारै धनकुमारलाई आफु ठगिएको मात्र होइन हेपिएको महसुस हुन थाल्यो । मनमनै बदला लिने सोच बनाउनुभयो । तर कसरी ? पञ्चायत पालाका प्रधानपञ्चसंग एउटा मामुली मान्छेले जोरी खोज्नु चानचुने कुरा थिएन । राजनीति बाहेक अन्य तरिकाबाट ठेगान लगाउन नसकिने निष्कर्ष सहित अन्तत फियाक आफै राजनीतिमा होमिनुभयो ।
२०३६ सालको जनमत संग्रहबाट पञ्चको भन्दा फरक तर क्रान्त्रिकारी कम्यूनिष्टहरु हुन्छन् भन्ने थाहा पाए र आफुलाई कम्यूनिष्ट कित्तामा उभ्याउनुभयो । आफ्नो विचार र स्वभाव कम्युनिष्ट भएको पहिचान गरेपछि तत्कालिन (माले) पार्टी सम्पर्कमा पुग्नुभयो । २०४७ सालको जनआन्दोलनमा सहभागी हुनुभयो । पार्टीप्रतिको लगाव र आन्दोलनको सक्रियता देखेर तत्कालिन गाउँकमिटी सचिव आइन्द्र ढकालले बैठक पुस्तिका सहित धनकुमारलाई सचिव पद हस्तान्तरण गर्नुभयो ।
बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि पहिलो स्थानीय चुनाव २०४९ मा भयो । जेठ १५ र १८ गरि दुई चरणमा भएको निर्वाचनमा कुल ४४ हजार ५ सय ३९ पदको लागि भएको चुनावमा एमाले ११ हजार ५ सय ६१ स्थानमा विजयी भई दोस्रो ठूलो दलको रुपमा उभियो । पहिलो स्थानीय चुनावको पदावधि सकिएपछि २०५४ जेठ ४ र १३ गते दोस्रो निर्वाचन सम्पन्न भयो । यस निर्वाचनमा नेकपा (एमाले)ले ठूलो सफला हासिल गर्यो । एमाले एक्लैले ५० प्रतिशत विजयी हासिल गर्यो । यो दुईओटै चुनावमा फियाक आरुबोटे गाविस अध्यक्षका रुपमा विजयी हुनुभयो । रोचक पक्ष यी दुई पटक नै फियाकले आफ्नो जग्गा र सुन पचाउने पूर्वप्रधानपन्च, उपसभापति बमप्रसाद फियाकलाई हराउनुभएको थियो ।
उत्पिडन र बदलाको भावले राजनीतिमा होमिएका फियाक गाविस अध्यक्ष भएसंगै जिम्मेवार बन्दै जानुभयो ।
रंगभेदविरुद्धको आन्दोलनमा २७ बर्ष जेल जीवन विताएको दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाले सन् १९९४ राष्ट्रपति भएपछि भनेका थिए ‘यो देश सबैको हो, जो यहाँ बसोबास गर्छन । हामी सबैको समृद्धिको पक्षमा छौ ।’ आफुलाई हिजो प्रताडित गर्नेलाई पराजय गरेर आफु शक्तिमा आएपछि फियाकले मण्डेलको पथ पछ्याउनुभयो । सबैलाई समान व्यवहार गर्नुभयो । त्यो थुम्कोमा पुगेपछि उहाँले थाहा पाउनुभयो अझै चूलीहरु बाँकी नै रहेछन् । अनि दशर्कौपछि आफ्नो छोराहरुसंगै पुन त्यहि विद्यालयमा पढे एसएलसी पास गरे । ६ भाई छोरा ३ बहिनी छोरी हुर्काउनुभयो । शिक्षादिक्षा दिए र राजनीतिक यात्रा जारी राख्नु ।
यस अघि पटकपटक गठन विघटन हुदै भूमि समस्या समाधान आयोग आफैले समस्या झेलिरहेको अवस्था थियो । यसपटक भने नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले यो आयोग अन्तिम हुने उद्घोष गरेका छन् । आशा गराँै यो अन्तिम हुनेछ ।
आयोगका अध्यक्ष भएपछि फियाकले आफु आधारभूत तहमा रहेर राजनीति गरेको र पटकपटक स्थानीय तहको नेतृत्व गरेकाले आफुलाई पाँचथरमा भूमिसम्बन्धी भएको समस्या र समाधनका उपायहरु राम्रोसंग थाहा भएकाले नै यो आयोगको नेतृत्व गर्न तयार भएको बताउनुभएको छ ।
उहाँले राजनीति उत्पिडनबाट निस्किने र समाज बदल्ने हतियार हो भन्ने जुन विश्वासका साथ यो लामो यात्रा गर्नु भएको छ यो नयाँ भूमिकामा पनी उहाँ पक्कै सफल हुनुहुने छ ।
प्रतिक्रिया