फिदिम । गाउँघरका महिलाहरूको दैनिकी चुल्हो–चौको र डोको–नाम्लोमै बित्ने गर्दछ। यस्तो अवस्थामा अति विपन्न र आर्थिक रुपमा कमजोर भएका नागरिकले स्वास्थ्य उपचार पाउनु निकै कठिन हुने गर्दछ। समयमै उपचार नपाउँदा जटिल प्रकृतिका रोग लाग्ने खतरा झनै बढ्छ। यस्ता समस्याबाट नागरिकलाई बचाउनका लागि पाँचथरको फिदिम नगरपालिकाले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।
शुक्रबार र शनिबार, दुई दिनसम्म जिल्ला अस्पताल पाँचथर आयोजित स्तन र पाठेघरको मुखमा हुने क्यान्सर परीक्षण शिविरमा २ हजार १ सय १३ जना महिलाले सेवा लिनुभयो। भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरबाट सेवा पाउँदा स्थानीय महिला खुसी हुनुहुन्थ्यो।
शिविरमा २ सय ६ जनाले भिडियो एक्स–रे गराउनुभयो भने ३१ जनाले आङ खस्ने समस्याको परीक्षण गराउनुभयो। त्यसैगरी ३ सय ५६ जनाको जटिल स्वास्थ्य समस्या परीक्षण गरिएको थियो। परीक्षणका क्रममा पाठेघरको जटिल समस्या देखिएका २४ जना महिलालाई थप उपचार तथा अप्रेसनका लागि रेफर गरिएको फिदिम नगरपालिकाले जनाएको छ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्वल चालिसेले क्यान्सरजस्तो प्राणघातक रोगबाट बच्न समयमै परीक्षण गर्नु आवश्यक भएको बताउनुभयो। उहाँका अनुसार बेलैमा जानकारी लिई उपचार गरेमा क्यान्सर सजिलै नियन्त्रणमा ल्याउन सकिन्छ।
फिदिम नगरपालिकाले आर्थिक अवस्था कमजोर तथा विपन्न नागरिकलाई लक्षित गर्दै प्रत्येक वर्ष नियमित रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। नगरप्रमुख मित्रप्रसाद काफ्लेका अनुसार, गत वर्ष एचपीभी किटमार्फत महिलाको पाठेघर क्यान्सर परीक्षण गरिएको थियो जसबाट ९ सय ८६ जना महिला लाभान्वित हुनुभएको थियो। तीमध्ये ३७ जनामा क्यान्सरको लक्षण देखिएको थियो भने हालसम्म १० जनाको नियमित उपचार भइ रहेको छ।
नगरप्रमुख काफ्लेले क्यान्सरजस्तो जटिल रोगबाट ग्रामीण क्षेत्रका नागरिकलाई बचाउन यस्ता शिविरको आयोजना गर्दै आएको बताउनुभयो। चिकित्सकहरूका अनुसार अधिकांश व्यक्तिको शरीरमा क्यान्सर उत्पन्न गर्ने भाइरस सक्रिय हुन सक्ने भएकाले समयमै परीक्षण गरी जोखिम पहिचान गर्न सके रोगबाट जोगिन सकिन्छ। यही कारणले नगरपालिकाले यस्ता शिविरलाई नियमितता दिँदै आएको छ।
प्रतिक्रिया