पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिदिम नगरपालिकाबाट कृषिमा यान्त्रिक क्रान्ति,किसानलाई धमाधम कृषि औजार वितरण गर्दै


फिदिम । फिदिम नगरपालिकाले परम्परागत खेती प्रणालीलाई सुधार गर्दै कृषिमा यान्त्रिकरण सुरु गरेको छ । उत्पादन वृद्धि र कृषि आधुनिकीकरणलाई लक्षित गर्दै यस आर्थिक वर्षमा हालसम्मकै ठूलो संख्यामा किसानलाई कृषि औजार र उपकरण अनुदानमा वितरण गर्ने तयारी थालेको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा ३ करोड ६० लाख रुपैयाँ बराबरको कृषि उपकरण खरिद गरेको हो । ठेक्का प्रक्रियामार्फत १८१ थान मिनिटिलर, १६० च्याफकटर, १८५ राइस मिल, ११ थान मकै छोडाउने मेशिन, २ थान उखु मिल र ४० थान स्प्रेयर खरिद गरिएको छ ।

यस्तै, कृषि कार्यक्रम अन्तरगत ५४४ थान टनेल, ६५ वटा प्लाष्टिक पोखरी, ५३ काउम्याट, २० फ्रिज र १४० मिल्क क्यान लगायतका सामग्री पनि खरिद गरिएको छ ।

नगरप्रमुख मित्रप्रसाद काफ्लेका अनुसार उपकरण वडाको सिफारिसको आधारमा वितरण गरिनेछ । उहाँले भन्नुभयो, “कृषिमा प्रविधिको प्रयोगले उत्पादकत्वमा ठुलो फड्को मार्ने विश्वासका साथ औजार वितरण प्रक्रिया अगाडि बढाइएको हो।”

नगरपालिकाले केही सामग्री वडाको आन्तरिक बजेटबाट पनि खरिद गरेको छ । साथै, विद्युतिय खरीद प्रक्रिया अपनाइएकाले ५२ लाख ५ हजार ९२५ रुपैयाँ बचत गर्न सफल भएको छ ।

हाल नगरवासी किसानहरू नगरपालिकामा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गर्दै कृषि औजारहरू दिदै छन्।

फिदिम नगरपालिकाका अनुसार यो वर्ष अनुदान वितरणमा हालसम्मकै ठूलो उपलब्धि हासिल गरेको कृषि विज्ञहरु बताउछन् ।