पाँचथरको कुम्मायक गाउँपालिकाको बिभिन्न स्थानमा गत चैत २१ र २२ गते भएको आगलागीमा ठुलो धनजनको क्षति भयो । गाउँपालिकाको–१,३ र ५ नम्बर वडाका दर्जन बढि घर खरानी बने । आगलागीबाट धनजनको क्षति भोगेका अग्नीपीडित परिवारलाई प्रवासी नेपालीहरुले सहयोग गरेका छन । किरात याक्थुङ चुम्लुङ युएई र संघीय लिम्बूवान सामाजिक सञ्च युएईको सयुक्त पहलमा दाताहरुबाट संकलन गरेको १ लाख ५३ हजार रुपैयाँ पीडित परिवारलाई बितरण गरिएको हो ।
आगलागीमा परी मृत्यु हुने कुम्मायक–३ की प्रतिमा सम्बाहाम्फे र निरमायाँ सम्बाहाम्फेको परिवारलाई नगद ३५ हजारको दरले ७० हजार रकम बितरण गरिएको छ । कियाचु र मञ्चले प्रवासी नेपालीहरुबाट संकलन गरेको रकम पीडित परिवारको घरमै पुगेर कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले हस्तान्त्रण गरेका हुन ।
सोही आगलागीमा परि सामान्य घाइते सपना र सिवना सम्बाहाम्फेलाई समान ५ हजारका दरले रकम बितरण गरिएको थियो । आगलागीबाट घर सहित सर्बस्व गुमाएका सोही वडाका डम्बर बहादुर कार्कीलाई नगद १० हजार रुपैयाँ समेत बितरण गरिएको थियो ।
आगो नियन्त्रण गर्ने क्रममा घाइते भई उपचार गर्दै आएका कुम्मायक–१ यासोकका खगेन्द्र बि.कलाई १० हजार रकम हस्तान्त्रण गरिएको छ ।
सोही वडामा सबै भन्दा बढि क्षति भोगेका पहलमान कार्कीलाई नगद १३ हजार रुपैयाँ सहयोग गरिएको छ भने अन्य ६ घरधुरीलाई समान ५ हजारको दरले नगद ३० हजार रुपैयाँ बितरण गरिएको छ । त्यस्तै कुम्मायक–५ का नर बहादुर चौहानलाई समेत नगद १० हजार रुपैयाँ सहयोग गरिएको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए ।
प्रतिक्रिया