पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले पाँच विद्यालय मर्ज गरेको छ । कुम्मायक गाउँपालिकाको भदौ ६ गते बसेको कार्यपालिका बैठकबाट पाँच वटा सामुदायिक विद्यालय मर्ज गरेको हो । मर्ज गरिएका विद्यालयहरुमा कुम्मायक आधारभूत विद्यालय, अमृत आधारभूत विद्यालय, हाङ्मापोखरी आधारभूत विद्यालय, सिंहकाली आधारभूत विद्यालय र सुर्योदय आधारभूत विद्यालय रहेका छन ।
त्यसैगरी कक्षा ४ र ५ तह समायोजन गरिएका विद्यालयमा सिद्धेश्वर आधारभूत विद्यालय र जनकल्याण आधारभूत विद्यालय रहेका छन् भने धारापानी बालविकास केन्द्रलाई समायोजन गरिएको कार्यपालिकाको निणर्यमा उल्लेख छ ।
कार्यपालिका बैठकले कुम्मायक–१ को कुम्मायक अधारभूत विद्यालय, अमृत आधारभूत विद्यालयलाई पृथ्वी मावि यासोकमा मर्ज गरेको छ । त्यस्तै सोही वडाको सिद्धेश्वर आविको कक्षा ४ र ५ लाई तह समायोजन गरिएको छ ।
कुम्मायक–४ रानीगाउँको हाङ्मापोखरीलाई सिंहवाहिनी आ.वि र सिंहकाली आ.वि.लाई सिद्धमा.वि. रानीगाउँमा मर्ज गरिएको छ । कुम्मायक–२ को धारापानी बालविकास केन्द्र सिद्ध सरस्वती माविमा मर्ज गरिएको गाउँपालिकाले जनाएको छ । कुम्मायक–३ को सुर्योदय आ.वि.लाई सार्वजनिक आ.वि.मा मर्ज गरिएको शिक्षा अधिकृत प्रदिपसिं तामाङले जानकारी दिनुभयो । त्यस्तै कुम्मायक–५ को जनकल्याण आ.वि.को ४ र ५ कक्षालाई महेन्द्रदोय मा.वि. पिपलबोटेमा समायोजन गरिएको छ ।
गाउँपालिकाले विद्यार्थी संख्या, विद्यालयको दुरीको अवस्थालाई मध्यनजर गर्दै कार्यदलको प्रतिवेदन, शिक्षा समितिको सिफारिस, सर्वदलिय वैठक र प्रभावित विद्यालयका सरोकारवालाहरुको सुझाव अनुसार कार्यपालिकाले मर्ज र समायोजन सम्बन्धि निणर्यमा पुगेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले २०७८ बैशाख ४ गते कुम्मायक–५ को ज्योती आविलाई महेन्द्रदोय मावि र देउराली आविको तह घटुवा गरेको थियो ।
प्रतिक्रिया