पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथरमा हावाहुरीले विद्यालयदेखि घर, उद्योग र चर्चसम्म करोडौंको क्षति

विपुल अधिकारी

पाँचथर । सोमबार साँझ करिब ५ बजे आएको  हावाहुरीका कारण पाँचथर जिल्लाका विभिन्न पालिकाका वडा क्षेत्रमा रहेका विद्यालय, घर, उद्योग तथा धार्मिक संरचनामा ठूलो क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको विवरण अनुसार करोडौं रुपैयाँ बराबरको भौतिक क्षति भएको भए पनि मानवीय क्षति भने भएको छैन।

फाल्गुनन्द गाउँपालिका–६, आङसाराङको श्री जय नारायण आदर्श माध्यमिक विद्यालयको २ तल्ले, २० कोठे पक्की भवनको जस्ताको छानो उड्दा करिब रु. ४० लाख बराबरको क्षति भएको छ । विद्यालयमा रहेको कम्प्युटर, ल्यापटप, प्रिन्टर, सोलार र स्मार्ट टिभी पूर्ण रूपमा क्षति हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको विवरण छ।

कुम्मायक गाउँपालिका–४, रानीगाउँमा रत्न बहादुर सम्बाहाम्फेको २ तल्ले ढुंगा–माटोको घरको छानो उड्दा रु. १ लाख क्षति भएको प्रहरीले जनाएको छ। घरको छानो उडाएपछि उनीहरू पालीमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ।

फिदिम नगरपालिका–२, नयाँ बसपार्कमा रहेको कञ्चनजङ्घा भेनियर उद्योग प्रा.लि.को मेसिन छोप्ने करिब ४० मिटर टहरा उडेर पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ ।

फिदिम–४, नुमा चोक स्थित नेपाल इभान्जलिकल फुल हार्भेस्ट गोसेन चर्चको जस्ताको छानो उड्दा २ लाख ७४ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै, फिदिम–३, झ्याउपोखरीमा गंगा कुमार राईको काठ–टिनको एकतले घरमा रु. ९ लाख बराबरको पूर्ण भएको विवरण छ।

फिदिम–३, सुङ्निमा चोकमा रत्न राईको दुई तले घरको छानो उड्दा १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

मिक्लाजुङ गाउँपालिका–८, हाड्सारीमा भूमनाथ श्रेष्ठको दुई तले घरको भान्सा घरको छानो उड्दा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । सोही स्थानका बम प्रसाद वाजीको भान्सा घरको छानो उड्दा ६० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले दिएको विवरणमा जनाइएको छ ।

हाड्सारीकै सिंह बहादुर तुम्साहाको घरको टिन उड्दा २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

मिक्लाजुङ–८, दुर्दिम्बामा रहेको सहकारी भवनको छानो उड्दा २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

मिक्लाजुङ–८, टाखा विनोद नेपालीको खर–बाँसको भान्सा घर पूर्ण रूपमा भत्किँदा रु. १ लाख क्षतिभएको छ। मिक्लाजुङ–८, भदौरे

चन्द्र बहादुर वागीको घरमा रु. ८० हजार बराबरको पूर्ण क्षतिभएको हो ।

मिक्लाजुङ–८, हिकुवामा गाविन्द्र गौतमको भान्सा घरको छानो उड्दा ७५ हजार बराबरको क्षति भएको छ ।

मिक्लाजुङ–८, दुर्दिम्बा भगती माविको ३ वटा सोलार प्यानल पूर्ण रूपमा नष्ट हुँदा एक लाख ५० हजार बराबरको क्षति भएको छ ।

हावाहुरीका कारण पाँचथर जिल्लाभर विद्यालय, घर, उद्योग र धार्मिक संरचनामा ठूलो क्षति पुगेको भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।